डडेल्धुराः डडेल्धुराका व्यवसायी हरिशसिंह पालीको कैलाली कारागारमा मृत्यु प्रकरणमा संलग्न देखिएका प्रहरी नायब निरीक्षक हरिजित नाथलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। कैलालीका प्रहरी प्रमुख एसपी बालनरसिंह राणाका अनुसार झण्डै एक हप्ता अघि जिल्ला अदालतको आदेशअनुसार नाथलाई थुनामा पठाइएको हो।



यस्तो छ घटनाको नालीबेली:
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई असार १ गते पालीलाई कैलाली कारागार चलान गरिएको थियो। तर, त्यसको दुई दिनपछि असार २ गते राति उनी अचानक बिरामी परेपछि सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो। अस्पतालले राति सवा १२ बजे पालीलाई मृत घोषणा गरेको थियो।
पाली डडेल्धुरा भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय व्यवसायी थिए। उनलाई २०८० जेठ २९ गते बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको थियो। तर, सई नाथको निर्देशनमा उनलाई ढिलो गराई जेठ ३० गते बेलुकी मात्रै कैलाली ल्याइएको र अदालतमा असार १ गते मात्र उपस्थित गराइएको बताइएको छ।
उनका आफन्तले पालीमाथि कारागारभित्रै चरम यातना दिइएको आरोप लगाउँदै मृत्यु पूर्व उनको शरीरमा निलडाम तथा चोटपटक देखिएको दाबी गरेका छन्। यद्यपि, प्रहरीले पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको भन्दै कारण खुलाउने अवस्था नरहेको जनाएको छ।
घटनापछि डडेल्धुरा बजार बन्द गरिनुका साथै चक्काजाम समेत गरिएको थियो। सार्वजनिक दबाबपछि कैलालीका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो। सोही समितिको सिफारिसमा सई नाथ पक्राउ परेका हुन्।
मृतकका आफन्तले नाथमाथि सुरुदेखि नै संलग्नताको आशंका गर्दै पटक–पटक पैसा मागेको आरोप लगाउँदै आएका थिए। असार २ गते मात्र पालीको परिवारले नाथको खातामा ८५ हजार रुपैयाँ पठाएको जानकारी दिएका छन्।
यो पनि पढौः
पाली मृत्यु प्रकरणस् सई नाथले दुई वर्षअघि हालेका थिए मुद्वा, उनकै षडयन्त्रमा हत्या भएको आरोप
प्रहरीको मिलेमतोमा कैदीबन्दीको मृत्यु भएको आरोप, आफन्त खोज्दै छन् न्याय

























