गोकर्ण पाण्डे/गुल्मी – गुल्मीदरबार गाउँपालिकाले आ.व. ०७७/०७८ मा सन्चालन हुने विभिन्न आयोजनाहरूमा गुणस्तरीयता, पारदर्शिता , जवाफदेहीता कायम गरी तोकिएको समयमा आयोजनाहरू सम्पन्न गर्न विभिन्न वडाहरूमा गठन भएका उपभोक्ता समितिका पदाधिकारीलाई वडास्तरमा अभिमुखिकरण कार्यक्रम आज मिति २०७७/०७/२३ गतेका दिन सम्पन्न भयो ।



अभिमुखिकरण कार्यक्रम वडा नं. १ बलिथुममा वडाध्यक्ष श्री रामबहादुर पल्लीको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष श्री मिना भण्डारीको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत श्री लक्ष्मण पाण्डेको विशेष आतिथ्यतामा सुभारम्भ भई वडा नं. ७ का अध्यक्ष श्री टोपबहादुर बस्नेतको अध्यक्षता, गाउँपालिका अध्यक्ष श्री अशोककुमार थापाज्यूको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत श्री लक्ष्मण पाण्डेको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री लक्ष्मण पाण्डे, अधिकृत छैठौ टंकप्रसाद पन्थी, अधिकृत छैठौ लेखा भविष्य अर्याल, इन्जिनियर छैठौ राजु अर्याल लगायतले सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष श्री अशोककुमार थापाले तोकिएको समयमा गुणस्तरयुक्त कार्य गर्न निर्देशन दिनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले उपभोक्ता समितिले गाउँपालिकाले जारी गरेको सार्वजनिक जवाफदेहीता प्रवर्द्धन सम्बन्धी कार्यविधि, २०७७ बमोजिम आयोजनाको सार्वजनिकरण, सार्वजनिक परिक्षण लगायतका कार्य गरी गुणस्तर र पारदर्शिता कायम गरि उपभोक्ता समितिका सबै पदाधिकारी तथा सदस्यहरूको कार्य विवरण तयार गर्दै योजना समयमा सम्पन्न गर्न पालिकाबाट कार्यादेश प्राप्त गरेपश्चात कार्य योजना निर्माण गरी काम सुरू गर्न सबैलाई अनुरोध गर्नु भयो ।


























