महेन्द्रनगर । कञ्चनपुरमा महिला हिंसाका घटनामा वृद्धि भएको छ । पछिल्लो समयमा बरोजगारी लगायतका विभिन्न समस्याहरु बढ्दै जाँदा जिल्लामा महिला हिंसाका घटनामा बृद्धि भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार महिलामाथि हुने घरेलु तथा लैंगिक हिंसा विरुद्धका उजुरी बढ्दै गएका छन् । महिलामाथि हुने लैंगिक हिंसा तथा घरपरिवारबाटै हुने घरेलु हिंसाका उजुरी दिन प्रति दिन बढ्दै गएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्राप्त तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/०७६ मा कञ्चनपुर जिल्लाभर १ सय ८४ घरेलु हिंसा तथा ११ लैंगिक हिंसा गरी महिला हिंसाका जम्मा १ सय ९५ उजुरी प्रहरी कार्यालयमा परेका छन् । त्यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा १ सय ६१ घरेलु हिंसा तथा ६८ लैंगिक हिंसा गरी महिला हिंसाका जम्मा २ सय २९ घटना दर्ता भएका छन् ।
“अघिल्ला दुई आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षको केही महिनामै महिला हिंसाका घटनामा उल्लेख्य बृद्धि भएको देखिन्छ, ति मध्ये पनि केही घटना त प्रहरी सम्म नै पुग्दैन ।” प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले भने, “अघिल्लो वर्षको दुई आर्थिक वर्ष भन्दा पनि यस आर्थिक वर्षको असोज मसान्त सम्म उजुरीको चाप अत्याधिक भएको छ, उजुरी कै आधारमा हेर्ने हो भने महिला हिंसाको घटनामा विगत भन्दा यस वर्ष उल्लेख्य बृद्धि हुदै गएको छ ।” यस आर्थिक वर्षको प्रारम्भ देखी असोज महिनाको मसान्त सम्म ९७ घरेलु हिंसा र ५५ लैंगिक हिंसाका घटना गरी महिला हिंसाका १५२ उजुरी परेका छन् ।



विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिडको समयमा अधिकांश व्यक्तिहरु नियमित काममा जान नसकेको परिस्थितिमा पारिवारिक तथा सामाजिक तनावले पनि महिला हिंसाका घटनामा वृद्धि भएको उनले बताए ।
प्रहरी कार्यालयमा परेका उजुरी मध्ये अधिकासं उजुरी जटिल खाले हुने गरेका छन् । अहिलेको अवस्थामा केही सानातिना उजुरीहरु गाउँघर तथा स्थानिय स्थरमा समेत मिलोमत्तो गराईने गरिएको पाइन्छ । प्रहरी कार्यालयमा दर्ता हुने गरेका प्राय उजुरीहरु जटिल किसिमका घटनाहरुसंग सम्बन्धित हुने गरेको प्रहरीको भनाइ छ ।
“स–साना घटनाबाट पनि जटिल किसिमको उजुरीहरु प्रहरी कार्यालयमा पुग्ने गरेका छन् ।” उनले भने, “प्रहरी कार्यालयमा परेका उजुरीलाई छिनोफानो गर्न दुवै पक्ष बिच मिलोमत्तो गराएर उजुरीलाई किनारा लाउने गरिएको अवस्था छ ।” यस्तै मिलोमत्तो नहुने उजुरीहरुमा भने मुद्धा मामिलाको प्रक्रियाबाट सामाधान गर्ने गरिएको उनले बताए ।
महिला हिंसा सम्बन्धि हुने गरेका प्राय घटना मध्ये घरेलु हिंसा सबैभन्दा बढी हुने गरेको छ । महिलामाथि हुने हिंसा रोकथाम गर्न सरकारको तर्फबाट भएका विभिन्न प्रयास पनि प्रयाप्त नभएको कतिपयको बुझाई छ । महिला हिंसा तथा मानव बेचविखन क्षेत्रमा काम गर्ने माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले महिला हिंसा बढ्नुमा कतिपय परिवार नै दोसी भएको बताईन् । धेरै जसो महिला आफ्नै परिवारबाट सुरक्षित नभएका कारणले पनि महिला हिंसाका घटना दिनानु दिन बढ्दै गइरहेको उनले बताईन् ।
“हाम्रो समाजमा घट्ने घटना मध्ये सबै भन्दा बढी घटना महिला हिंसाका घटना घट्ने गरेका छन्, ति मध्ये कतिपय हामी सम्म पुग्छन् त कतिपय प्रहरी सम्म पुग्छन् भने कतिपय गोप्य नै राखिन्छन् ।” माइती नेपालकी स।योजक महेश्वरी भट्टले भनिन्, “गोप्य पारिएका घटनाबाटै महिलालाई बढी हिंसामा पारिएको हुन्छ, घटना गोप्य राखिँदा महिला हिंसाको घटना आत्महत्याको रुप सम्म जाने गरेको अवस्था छ ।” दैनिक रुपमा बढ्दै गरेको महिला हिंसाको समस्या समाजमा मात्रै नभएर चारै तिर रहेको उनले बताईन् ।
कानून भएर पनि कानूनको सही ढङ्गले पालना नहुनुले पनि महिला हिंसा बढ्दै गएको छ । “विभिन्न उत्पिडनमा परेको महिलाहरुको लागि जुन कानूनी प्रावधान हुनु पर्ने हो त्यसको पनि कमी रहेको छ, भएको कानूनी व्यवस्था पनि कार्यान्वय भएको अवस्था देखिदैन ।” उनले भनिन्, “सामाजिक मुल्य मान्यताले पनि महिला वर्गलाई हेपेर हेरिएको छ, यस्तै विभिन्न कारणले महिला पछाडि पारिएको छ ।” स्थानिय स्थरमा महिला हिंसा बढ्नुमा सबैभन्दा बढी कमजोरी राज्य बाट भएको देखिन्छ । हिंसामा पारिएका महिलाहरु पहुँचवाला परिवारको पनि हुने भएकाले कडा कानूनी व्यवस्था नभएका कारणले पनि महिला हिंसा कम नभएर बढ्दै गएको संयोजक भट्टको भनाई छ ।
सरकारी तवरबाट घरपरिवार सँगै समाजले पनि आफ्ना बालबालिकालाई आमा र बुबा समान हुन्, दिदी, दाजु, बहिनी र भाइ सबै बराबर हुन्, सबैले समान काम गर्छन्, उनीहरूमाथि एक–अर्काले समान व्यवहार गर्नुपर्छ भन्ने सामान्य शिक्षा प्रदान गर्न सकियो भनेपनि महिला हिंसामा केही हदसम्म कमी ल्याउन सकिन्छ ।

























