विद्यालय तथा विश्वविद्यालय तहका स्थगित परीक्षा अब धमाधम सञ्चालन हुने भएका छन्।



सरकारले शैक्षिक संस्थाका स्थगित परीक्षा सञ्चालन गर्न बाटो खुला गरेपछि विद्यार्थीका स्थगित परीक्षा हुने बाटो अब खुलेको खबर आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले विद्यालय, विश्वविद्यालय तथा शैक्षिक संस्थाका लागि परीक्षा सञ्चालन गर्न बाटो खुला गरिदिएको हो।
यसअघि सरकारले भौतिक उपस्थितिमा सञ्चालन गर्नेगरी परीक्षाका लागि बाटो खुला गरेको थिएन । मन्त्रालयले स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न बाटो खोलिदिन सरकारसित सिफारिस गरेको थियो।
कोरोना भाइरसको सङ्क्रमण कायमै रहेको अवस्थामै सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा टुङ्गो गरी विद्यालयलाई माथिल्लो कक्षामा अध्ययन गर्न बाटो खोलिदिएको छ । कक्षा–११ को परीक्षा विद्यालयले गर्न सक्ने गरी निधो गरेर सम्बद्ध विद्यालयलाई नै जिम्मा दिइएको छ।

























