महेन्द्रनगर– लामो समयदेखि अलपत्र अवस्थामा रहेको कञ्चनपुरको बेतकोट नगरपालिकास्थित दैजी क्षेत्रमा पर्ने दैजीछेला औद्योगिक क्षेत्रको काम अघि बढेको छ । २०५३ सालमै दैजीछेला औद्योगिक क्षेत्रका लागि बजेट विनियोजन भइसके पनि झन्डै दुई दशकपछि काम अघि बढेको हो । औद्योगिक क्षेत्र घोषणा गरेको २५ वर्ष बितिसक्दा समेत स्थापना हुन प्रक्रियामै अल्झेको औद्योगिक क्षेत्र अहिले आएर अघि बढ्ने भएको हो ।
२०६६ मा जिल्ला वन समन्वय समितिले आवश्यक जमिन उपलब्ध गराउने सहमति गरेको र जनचेतना सामुदायिक वन, बेदकोट सामुदायिक वनले पनि औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गा दिन सहमति जनाइसकेका छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयले पनि दैजीछेलाको चार किल्लाभित्र बनाउने निर्णय गरिसकेको छ ।
औद्योगिक क्षेत्रको डीपीआरको काम पनि सम्पन्न भएको छ । दुई दशकदेखि औद्योगिक क्षेत्र स्थापना हुने हल्ला चले पनि हाल आएर काम अगाडि बढेपछि स्थानीय क्षेत्रमा पनि स्थापनाको काम हुने विश्वास जगाएको छ । लामो समय प्रक्रियामा रहेको दैजीछेला औद्योगिक क्षेत्रको प्रक्रियाको अल्झन जस्तै बनेको ईआईए अर्थात वातावरणीय मूल्याङ्कन प्रभाव स्वीकृत भएको बेतकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले बताए ।
“लामो समयदेखि प्रक्रियामै अल्झन् बनेको ईआइए स्वीकृत भएको छ,” प्रमुख चन्दले भने, “ईआइए स्वीकृत भएको खण्डमा औद्योगिक क्षेत्र निर्माणको बाँकी काम सम्पन्न गर्न धेरै समय लाग्ने अवस्था हुँदैन ।” उनका अनुसार स्वीकृत हुनै लागेको ईआइएलाई जिल्ला वन कार्यालयको गलत रिपोर्टिङका कारणले ईआईए स्वीकृत गर्न धेरै समयपछि स्वीकृत भएको उनले बताए । २०७५ असोजमा जिल्ला वन कार्यालय महेन्द्रनगरले वन तथा वातावरण मन्त्रालयमा दैजीछेला क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्न नसकिने पत्र पेश गरेपछि धेरै अगाडि बढेको काम रोकिएको थियो ।
“वन कार्यालयले दैजी औद्योगिक क्षेत्रसँग शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जोडिएको, औद्योगिक क्षेत्रबाट झण्डै ७० किलोमिटर टाढा रहेको भारतमा पर्ने दुधिया नेशनल पार्कलाई औद्योगिक क्षेत्रसँग जोडिएको उल्लेख गरेको, सालको पुनरुत्पादित क्षेत्र र जंगली जनावरको हिडडुल गर्ने बाटो भएको भन्दै कञ्चनपुरको उक्त क्षेत्रमा उद्योग स्थापना गर्न सकिदैन भनेर वन कार्यालयले झुटो रिर्पाेटिङ गरेपछि औद्योगिक क्षेत्रको धेरै अगाडि वढेको कार्य रोकिएको थियो,” नगर प्रमुख चन्दले भने, “वन तथा वातावरण मन्त्रालय र उद्योग मन्त्रालयसँग सबै यथेस्ट प्रमाणसहित पेस गर्दा मन्त्रालयस्तरबाटै सकारात्मक कुरा आएपछि ईआईए स्वीकृत हुने अवस्था आएको हो ।” इआइए स्वीकृत भएको अवस्था भएको भन्दै अबको औद्योगिक क्षेत्रको निमार्णको गति भने चाडै सुुरु हुने नगर प्रमुख चन्दले बताए । कारोबार बाट साभार