सीता एयर सुदूरपश्चिम प्रदेशमा हवाई सेवा दिन ईच्छुक देखिएको छ । सीता एयरले मंगलबार प्रदेशका पहाडी जिल्लाका चारवटा विमानस्थलमा परीक्षण उडान गरेको छ । प्रदेशका पहाडी जिल्ला बझाङको विमानस्थल, अछामको साफेबगर, डोटीको दिपायल र बैतडीको पाटल विमानस्थलमा परीक्षण उडान गरेको हो ।



सीता एयरले प्रदेशको अस्थायी राजधानी धनगढीलाई आधार बनाइ पहाडी जिल्लामा नियमित उडान गर्ने लक्ष्यअनुरूप गरिएको तीनवटै जिल्लाको परीक्षण उडान सफल भएको जनाएको छ । यसअघि प्रदेशका तीन पहाडी जिल्लामा समिट एयरले साप्ताहिक उडान गरिरहेको छ ।
समिट एयरले धनगढी–बझाङ, बझाङ–धनगढी–नेपागञ्ज, धनगढी–दिपायल, धनगढी–साँफेबगर र धनगढी–पाटनमा साप्ताहिक उडान भर्दै आएको छ । समिट एयरले उडान भरेसँगै लामो समयसम्म बन्द अवस्थामा रहेका सुदूरपश्चिमका विमानस्थल सञ्चालमा भएका थिए ।
समिट एयरले उडान भरेसँगै यात्रुको चाप बढदै गए पनि हवाईभाडा महँगो भएको भन्दै टीका टिप्पणी हुन हुने गरेको थियो । सीता एयरले पनि नियमित उडान भरे आन्तरिक उडानमा प्रतिस्पर्धा हुने र भाडादरसमेत केही सस्तो हुने यस क्षेत्रका वासिन्दाको भनाइ छ ।

























