प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले जस्तो यसअघिका कुनैपनि सरकारले जनताका लागि काम नगरेको दावी गरेका छन्।



शुक्रबार नेकपा ओली समूहले राजधानीमा गरेको सभालाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले नेपाललाई सम्बृद्ध बनाउन कसैले रोक्न नसक्ने दावी गरेका हुन्।
उनले भने, ‘हेर्दै जानुस् नेपाल कता जान्छ। नेपाललाई समृद्धिको देश बनाउनका लागि कसैले रोक्न सक्दैन। अहिलको सरकारले जनताका लागि जसरी काम गरेको छ, त्यसरी इतिहासमा कुनै सरकारले गरेको थियो? यति छिटो विकास कुनै सरकारले गरेको थयो? अहिले जस्तो काठमाडौँ कहिल्यै थियो? अहिले जति बाटा कहिल्यै बनेका थिए? अहिले जति पुल कहिल्यै बनेको थियो?’
अब दैलेखबाट पेट्रोल, डिजेल निकाल्ने उनले बताए। साथै देशका विभिन्न स्थान रहेका फलाम खानी उत्खनन् गरेर उद्योगहरु सञ्चालन गर्ने ओलीको दावी छ।उनले भने, ‘ नवलपरासीको धौवारीमा विशाल फलाम खानी भेटाएका छौँ। त्यहाँबाट फलाम र स्टील उत्पादन गर्न परीक्षण भइसकेको छ। अब उत्पादन गर्ने काम हामी थाल्छौँ। तनहुँको मिनम डाँडाबाट, पर्वतको फलाम खानीबाट निस्किने फलामबाट फलाम र स्टीलका कारखाना खोल्ने छौँ।’

























