धनगढी – धनगढी उप–महानगरपालिकाले समुदाय स्तरमा कोरोना परिक्षण थालेको छ । समुदायस्तर मै कोरोना संक्रमण फैलिएको हुन सक्ने भन्दै उप–महानगरपालिकाले विगत केही दिनदेखि परिक्षण गर्न थालेको हो ।



नगरभित्रका विभिन्न बढी जोखिम भएका ठाउँका व्यक्तिहरुको कोरोना परिक्षण गर्न थालिएको उप–महानगरपालिकाका प्रबक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरीले जानकारी दिए ।
‘विगत केही दिन देखि समुदाय स्तरमा कोरोना परिक्षणको दायरा बढाएका छौ,’उनले भने‘बढी जोखिमयुक्त क्षेत्र र बढी भिडभाड हुने ठाउँमा परिक्षण भईरहेको छ ।’ दैनिक स्वाब संकलन गर्दा परिक्षण रिपोर्ट आउन ढिलाई हुने भएकाले दिन बिराएर स्वाब संकलन भईरहेको बताईएको छ ।
प्रबक्ता मुडभरीले अनुसार संक्रमितका परिवार, बढी जनसम्पर्कमा रहने ब्यक्ति, अन्य ठाउँबाट आएका व्यक्तिहरुको स्वाव संकलन गरेर परिक्षण भईरहेको बताए । टोल–टोलमा निश्चित ठाउँ तोकेर स्वाब संकलन भईरहेको उनले जानकारी दिए ।
आज सम्म सात सय भन्दा बढी स्वाब संकलन गरिएको उनको दाबी छ । उनले उपमहानगरपालिका सँग अहिले भिटिएम किट प्रयाप्त मात्रामा रहेको समेत बताए । सोमबार सम्म नगरभित्र कोरोना संक्रमितको संख्या दुई सय ४३ छ ।

























