कञ्चनपुर- तस्करको समूहले कञ्चनपुरको बेलौरी नगरपालिकाको थापाचोकमा सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गर्दा दुई जवान घाइते भएका छन् ।



अवैध रुपमा भारतबाट ल्याइएको सामान र मोटरसाइल नियन्त्रणमा लिई बोर्डर आउट पोष्टमा ल्याउने क्रममा तस्करको समूहले सशस्त्र प्रहरीको टालीमाथि बिहीबार राति ढुङ्गामुढा प्रहार गरेको हो ।
आक्रमणबाट सशस्त्र प्रहरी जवान सोमतराम चौधरी र छडकबहादुर चौधरी घाइते भएका छन् । घाइते सोमतरामलाई थप उपचारका लागि धनगढीतर्फ लगिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट थापाचोकबाट सशस्त्र प्रहरी वसन्तबहादुर विष्टको कमाण्डमा खटेको नौजनाको टोलीमाथि ५० जनाभन्दा बढीको संख्यामा रहेका व्यक्तिले ढुङ्गामुढा प्रहार गरेका थिए ।
सशस्त्र प्रहरीको पैदल गस्ती टोलीले बेलौरी–१ वैशाखीस्थित मुख्य सीमा स्तम्भ नम्बर ७७१ ९बिपी २०२० नजिक भारतबाट अवैध रुपमा नेपालतर्फ सामान ल्याउदै गरेको से १ प ४९२५ नम्बरको मोटरसाइललाई रोक्न खोज्दा सशस्त्र प्रहरी जवान छडक बहादुरलाई ठक्कर दिई घाइते बनाएका थियो । मोटरसाईल र सामान बिओपीमा ल्याउने क्रममा ढुङ्गामुढा प्रहार भएको प्रहरीले जनाएको छ।
छडक बहादुरको हात, खुट्टा, घुँडा र टाउकोमा चोट लागेको छ। आक्रमण गर्नेहरुको खोजी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताए।

























