अत्तरिया: अत्तरियामा फागुन २७ गते बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै थ्रिडिभिएल क्रियसनले शिवरात्रीको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको जनाएको हो ।



थ्रिडिभिएल क्रियसनका अध्यक्ष दिपक ओझाले कला संस्कृतिको संरक्षण संगै युवाहरुलाई श्रृजनात्मका काममा लाग्न उत्प्रेरणा जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको बताए ।
‘कार्यक्रम संचालनका लागि स्थानिय सरकार, प्रदेश सरकार संग आग्रह गरेपनि भने अनुसारको सहयोग पाएका छैनौ’ उनले भने ‘हामी संस्थामा आवद्ध युवाहरुबाट पैसा उठाएर भएपनि कार्यक्रम संचालन गर्ने सोच बनाएका छौ ।’
उनले कार्यक्रम संचालनका लागि ५ लाख ३५ हजार जति खर्च लाग्ने अनुमान गरिएको बताए । ‘कार्यक्रममा प्रतिवद्धता गरिए अनुसार रकम संकलन हुन नसकेकाले हामीले केहि कार्यक्रम कटैती गरेका छौ’ उनले भने ‘कार्यक्रममा सामाजिक क्षेत्रको सेवामा लागेका संघ सस्थाहरुलाई पनि सहयोग गरिने छ ।’
कार्यक्रममा सुदूरपश्चिमका चर्चित देउडा गायक भुवन दाहाल संगै स्थानिय कलाकार र थ्रिडिभिएल क्रियसनका कलाकारहरुले आ – आफ्नो प्रस्तुती राख्ने जनाईएको छ ।
थ्रिडिभिएल क्रियसनका सचिव एलआर ओझाले कार्यक्रम बिहान १० बजे देखि सुरु भएर साँझ ४ बजे सम्म संचालन हुने बताए । उनले कार्यक्रममा ५ हजार दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरेको बताए ।
कार्यक्रममा थ्रिडिभिएल क्रियसनद्धारा काटिएको चिठ्ठाको पुरस्कार पनि घोषणा गरिने जनाईएको छ । आर्थीक संकलनका लागि यसअघि थ्रिडिभिएलले १ सय रुपैयाँ बराबरको चिठ्ठा काट्ने अभियान संचालन गरेको थियो । जस अन्तरगत हालसम्म ११ सय बढी चिठ्ठा काटिएको अध्यक्ष ओझाले बताए ।
जसमा प्रथम पुरस्कार कम्प्युटर राखिएको छ भने १३ जनालाई पुरस्कार वितरण गरिने जनाईएको छ । थ्रिडिभिएल क्रियसनले यसअघि पनि बिभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ भने थ्रिडिभिएल क्रियसनको व्यानरमा युट्युव मार्फत काण्ड खराब नामका कमेडि सिरियल बनाउँदै आएको छ ।

























