सुदूरपश्चिम प्रदेश सहित देशभर कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखी सुरु हुँदै छ । दोस्रो चरणको खोप अभियानमा ६५ वर्ष माथिकालाई खोप लगाइने भएको छ । यसको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओली आफैंले खोप लगाएर गर्ने छन् ।



खोप लगाउन प्रधानमन्त्री ओली आज बिहान १० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज जानेछन् । यसअघि दोस्रो चरणमा ५५ वर्षमाथिका नागरिक, शिक्षक, सार्वजनिक यातायातका चालक तथा सहचालकलगायतलाई खोप दिने घोषणा गरिए पनि खोपको मात्रा अपुग हुने भएपछि ६५ वर्षमाथिकालाई मात्रै खोप दिन लागिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार दोस्रो चरणको खोप अभियान सन्चालनका लागि ६ हजार खोप केन्द्र स्थापना गरिएको छ ।
यता सुदूरपश्चिमका ९ वटै जिल्लाको ७ सय ३५ खोप केन्द्रबाट खोप अभियान सञ्चालन हुने भएको छ । दोस्रो चरणमा प्रदेशका ५५ वर्ष माथिका ३ लाख ६३ हजार जनसंख्यालाई खोप दिने सरकारको तयारी छ ।
नेपाल सरकारले भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप दिँदै आएको छ । यो खोप भारतमा ७० प्रतिशत प्रभावकारी भएको पाइएको छ । पहिलो चरणको खोप अभियान गत माघ १४ गते देखि सुरु भएको थियो ।

























