२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

१५ दिनसम्म नभेटिएका वडा सचिव, खोज्दा फेलै नपर्ने मेयर

मोरङ– देश संघीयतामा गएसँगै ३ वटा सरकार बने । संघमा संघीय, प्रदेशमा प्रदेश र गाउँ तहमा स्थानीय सरकार ।

नेताहरूले भाषण गर्दा गाउँ–गाउँमा सिंहदरबार पुर्‍याइएको भन्नसमेत पछि पर्दैनन् । गणतन्त्रपछिको उपलब्धि गाउँ–गाउँमा सिंहदरबार पुगेको उनीहरूको भाषण हुने गर्छन् ।

जनताले पनि सुरुमा आफ्नै घर–आँगनमा सिंहदरबार आएको भन्दै खुसी जनाए । तर, पछिल्लो समय तिनै जनता सिंह मात्रै आएको, दरबार नआएको भन्दै गुनासो गर्न थालेका छन् । 

जनतासँग प्रत्यक्ष जोडिएका सरकारी कार्यालयबाटै सेवा लिन घन्टौँ होइन, महिनाैँ पर्खनुपरेपछि सेवाग्राही मारमा पर्ने गरेका छन् । प्रदेशको राजधानी भएको जिल्लामै यस्तो हविगत छ ।

विराटनगर महानगरपालिकासँगै जोडिएको पालिका २२ दिनदेखि वडा सचिवविहीन बनेको छ । सुन्दरहरैचा नगरपालिका वडा नम्बर १ सचिवविहीन हुँदा सेवाग्राही मारमा परेका हुन् ।

वडा सचिव नहुँदा पञ्जीकरण, योजनाका काम रोकिएका छन् । जन्मदर्ता, मृत्युदर्ता, सम्बन्ध विच्छेद, विवाह दर्ता, योजना सम्झौता तथा भुक्तानीका काम रोकिएका हुन् ।

दैनिक वडामा आउँदासमेत वडा सचिव नभेटिने गरेको सुन्दरहरचाको वडा नम्बर १ का इन्द्र भट्टराईले गुनासो गरे । ‘१५ दिनदेखि एउटै कामका लागि आउँदासमेत वडा सचिव भेटिएनन् । नगरपालिकामा सोधखोज गर्दा कसैले बताएनन्,’ उनले भने ।

पटक–पटक नगरपालिकामा कर्मचारी पठाइदिन आग्रह गरे पनि नपठाइदिएको वडाध्यक्ष विनोद बस्नेतले बताए । 

त्यहाँका सचिवको अन्यत्र सरुवा भएपछि पुनः सचिव नगरपालिकाले नपठाउदा सेवाग्राहीले कष्ट खेप्नुपरेको छ । तर, नगरपालिकाको कार्यालयमा बस्ने जनप्रतिनिधि नै त्यो विषयमा जानकार छैनन् । 

नगरपालिकामै गएर बुझ्दा आफ्नै कार्यकक्षमा भेटिएकी उपप्रमुख धना तामाङले वडा सचिव नभएको विषयमा जानकारी नै नभएको जवाफ दिइन् । नगरप्रमुख शिवप्रसाद ढकाल नगरभन्दा बाहिर गएको उनको निजी सचिवालयले जनाएको छ । 

त्यसो त नगरपालिकाको कार्यालय नै निमित्तको भरमा चलेको छ । प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद रेग्मीको सरुवा भएपछि कार्यालयसमेत निमित्तको भरमा चलेको हो । निमित्त प्रमुख प्रशासकीय अधिकृत जीवन चापागाईंले चाँडै वडामा सचिव खटाइने बताए । 

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।