रणवीर सिंह अभिनित फिल्म ‘सर्कस’ को धमाधम छायांकन चलिरहेको छ । रोहित सेट्ठीको निर्देशनमा बनेको फिल्ममा वरुण शर्मा दोहोरो भूमिकामा देखिनेछन् । वरुणले अभिनेत्रीद्वय ज्याक्लिन फर्नान्डेज र पूजा हग्डेसँग जोडी बाध्नेछन् ।



यस्तैमा फिल्मको छायांकन सेटमा अभिनेत्री दीपिका पादुकोण जोडिएकी छन् । दीपिकाले शुक्रबार मात्रै फिल्मको छायांकन सुरु गरेकी हुन् । निर्माणपक्षले दीपिकाले छायांकन सुरु गरेको जानकारी दिएको हो ।
निर्माणपक्षका अनुसार दीपिकाले फिल्ममा एक नृत्य प्रस्तुत गर्नेछन् । त्योसँगै दीपिकाको केही संवाद पनि छन् । ‘दीपिकाले बोल्ने संवादले दर्शकमा मज्जाको हाँसो ल्याउनेछ । उनको भूमिका साच्चिकै मसलेदार छ’, निर्माणपक्षले भारतीय मिडियालाई बताएको छ ।
दीपिकाले तीन दिनको सुटिङ सेड्युल बनाएकी छन् । तीन दिनमा नै दीपिकाको नृत्य र केही दृष्यहरू खिचिनेछ ।
‘सर्कस’ एक कमेडी कथामा बन्न लागेको फिल्म हो । यस फिल्म गुल्जारको कमेडी फिल्म ‘अंगुर’बाट प्रभावित छ । फिल्मको पूर्ण छायांकन अबको एक महिनामा सकिने निर्माणपक्षले जानकारी दिएको छ ।

























