बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न युवकलाई प्रहरीले पक्राउ गरेको छ ।



पक्राउ पर्नेमा चडेपानीकै १६ वर्षीय दिनेश भट्ट रहेको प्रहरीले जनाएको छ । उनी नाताले भागरथीका भाई हुन् ।
प्रहरीले आज दिउँसो दुई बजे पत्रकार सम्मेलन मार्फत हत्यामा संलग्न भट्टलाई सार्वजनिक गर्ने भएको छ ।
हत्या भएको दुईसाता पछि प्रहरीले हत्यारा सार्बजनिक गर्न लागेको हो ।
गत माघ २१ गते बुधबार विद्यालय गएकी भागरथीको भोलिपल्ट बिहीबार साँझ बीभत्स अवस्थामा शव फेला परेको थियो । शव फेला परेको १३ दिन पछि प्रहरीले हत्यारा पक्राउ गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उत्तमराज सुबेदीले पक्राउ परेका युवकले बलात्कार र हत्या आफूले गरेको स्वीकार गरेको पश्चिम टुडेलाई बताए ।
हत्यारा पक्राउ नपरेसम्म शव नउठाउने भन्दै आफन्तले शव बुझेका छैनन । दाहसंस्कार गरिए अपराधी उम्किन्छन् कि भन्ने आशंकाले शव उठाउन नसकिएको मृतकका आफन्तले बताउदै आएका छन । भागरथीको शवलाई जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।
भागरथी स्थानीय सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन्। उनको हत्यमा संलग्न युवक सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिए ।
विद्यालयबाट घर फर्किदै गरेकी भागरथीलाई ढुकेर बाटोमा बसेका दिनेशले आफूले भागरथीको हत्या गरेको स्वीकार गरेपछि प्रहरीले आज उनलाई सार्वजनिक गर्न लागेको हो ।

























