२०८३ जेष्ठ ४ सोमबार
२०८३ जेष्ठ ४ सोमबार

कोरोना बिरुद्धको दोस्रो खोप ८ देखि १२ हप्ता पछाडि मात्र

काठमाडौँ– कोरोना भाइरसविरुद्धको अर्को खोप पहिलो डोज लगाएको ८ देखि १२ हप्ता भित्रमा लगाइने भएको छ।

खोपको बारेमा भइरहेका विभिन्न अनुसन्धानले पहिलो डोज लगाएको ८ हप्ता पूरा भएपछि १२ हप्ता भित्र लगाउँदा अझ बढी प्रभावकारी हुने पत्ता लागेसँगै खोप विज्ञ टोलीले सोही अनुसार गर्नका लागि स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको हो।

सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको कोभिड–१९ को माहामारी र ‘कोभिसिल्ड’ खोपको प्रभावकारिता बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै खोप विज्ञ तथा प्राविधिक समितिका संयोजक डा. श्यामराज उप्रेतीले नेपालमा अहिले खोप लगाएका व्यक्तिहरुलाई २८ दिन पुगेपछि दोस्रो डोज दिने तयारी भएकामा प्रभावकारिता मध्यनजर गर्दै ८ हप्तापछि लगाउन मन्त्रालयलाई सिफारिस गरिएको बताए।

उनले भने, ‘नेपालमा प्रयोग भइरहेको कोभिसिल्ड खोपको बारेमा विभिन्न अनुसन्धान भइरहेका छन्। पछिल्लो अनुसन्धानले पहिलो खोप लगाएको ८ हप्ता पूरा भएपछि १२ हप्ता भित्रमा दोस्रो डोज लगाउँदा त्यसको प्रभावकारिता बढी हुने भन्ने देखिएको छ। सोही अनुरुप मन्त्रालयलाई सिफारिस गरिएको हो।’

यस्तै परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमु्ख डा. झलक शर्मा गौतमले कोभिसिल्ड ढुक्क भएर लगाउन सबैलाई आग्रह गरेका छन्। उनी भन्छन्, ‘खोप लगाइसकेपछि केही लक्षण देखिनु सामान्य हो। लक्षण देखिँदा खोपले काम गर्दै छ भनेर बुझ्नु पर्छ। विश्वका १६ देशहरुमा लगाइरहेको कोभिसिल्ड खोप अत्यन्त प्रभावकारी र सुरक्षित छ।’

डा. गौतमका अनुसार मन्त्रालयले खोपमाथि गरिएको अनुसन्धानलाई लिएर निर्णय गरेपछि पहिलो खोप दिइएको ८ हप्तापछि मात्र दोस्रो खोप दिइने छ।

नेपालमा भने खोप लगाएको ४ हप्तापछि दोस्रो डोज लगाउने सुरु गरिएको छ। पहिलो चरणको दोस्रो प्राथामितामा रहेका व्यक्तिलाई खोप लगाउन सुरु गरिएसँगै आइतबारसम्म मात्रै १४ हजार ५ सय २० जनाले कोभिसिल्ड खोप लगाइसकेका छन्।

पहिलो चरणको खोप लगाएका व्यक्तिले हेल्चेक्रयाइँ गर्न नहुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बास्तोलाले बताए।

उनले भने, ‘खोप लगाए पनि स्वास्थ्य मापदण्ड भने पालन गर्नैपर्छ। कोरियामा गरिएको अध्ययन अनुसार कोरोना संक्रमितलाई खोप लगाएपछि प्रचुर मात्रामा एन्टिबडी बनेको पाइएको छ। संक्रमितले खोप लगाउनु प्रभावकारी हुन्छ। संक्रमितले खोप लगाउदा एन्टिबडी नबनेकाहरुमा एन्टिबडी बन्छ, केहि मात्रामा एन्टिबडी बनेकाहरुमा बुस्टिङ हुन्छ।’

संक्रमण भएपनि खोप लगाइसकेका व्यक्तिहरुमा पनि सामान्य लक्षणहरु मात्र देखिनुका साथै मृत्यु हुने सम्भावना धेरै कम हुने डा. बास्तोलाले बताए।

यसैगरी महामारी खोप पछि हुन सक्ने अवाञ्छित घटनाको निरुपण समितिका सदस्य प्रा.डा. केदार बरालले कोरोना भाइरसविरुद्धको खोप आइसकेको भएपनि कसैले पनि लापरबाही भने गर्न नहुने बताएका छन्। उनले भने, ‘कोभिसिल्ड खोप लगाएर कोही पनि गम्भीर खालको समस्यामा रहेका छैनन्। खोप लगाइसकेकेपछि सामान्य स्वास्थ्य समस्या देखिनु स्वभाविक नै हो।’

हाल नेपालमा लगाइरहेको खोप कोभिसिल्ड ७० प्रतिशत प्रभावकारी रहेकाले आकस्मिक सञ्चालनमा ल्याउन विश्व स्वास्थ्य संगठनले अनुमति दिएपछि नेपाल लगायत १६ वटा देशहरुमा यो खोप लगाउन थालिएको छ। हाल विश्वभर १० वटा कोरोनाविरुद्धको खोप प्रयोगमा रहेका छन्। ७० वटा खोप क्लिनिकल ट्रायलमा र २० वटा खोपको तेस्रो परीक्षण रहेका छन्।

अहिले विश्वले नै प्राथामिकताका आधारमा खोप लगाउन सरु गरेको छ। सोही अनुरुप नेपालमा पनि यही प्रणाली अनुसार खोप अभियान सञ्चालन भइरहेको छ। नेपालमा खोप माघ १४ गतेबाट अग्रपंक्तिमा खटिएका व्यक्तिबाट लगाउन सुरु गरिएको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।