देब जंग साँउद /कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिले संञ्चालन गरेको गौशालामा गाई खान नपाएर मर्न थालेका छन ।



नगरपालिकाको वडा नम्बर ६ चुनेपानीमा संचालित शिद्धसरोवर गौशालामा रहेका गाईहरु खान नपाएर मर्न थालेका हुन । नगरपालिकाले छाडा गाईको व्यवस्थापन गर्ने भन्दै गत बर्ष देखि ६ सय वटा गाई संरक्षण गरेर राखेको भएपनि अहिले गाईहरु भोकभोकै मर्न थालेका छन ।
प्रणय दिवसको अवसरमा गौशालाको अवलोकन गर्न सामाजिक अभियन्ता दिपक ओझाले गौशालामा गाईहरु एकदमै नाजुक अवस्थामा रहेको बताए । उनले गाईहरुले खान नपाएर मर्नुपर्ने अवस्थामा पुगरेका आफूले देखेको बताए । ‘गौशालामा गाईहरु खान नपाएर रुखका बोक्रा, माटो खाईरहेको देखियो’ उनले भने ‘राष्ट्रिय जनावर गाईको यस्तो अवस्था देख्दा निकै भावुक वनायो ।’
अकी अभियन्ता चाँदनी ऐरले गाईहरुको विजोक अवस्था रहेको र कतिपय गाई गौशालाभित्र मृत अवस्था देखिएको बताईन् । अभियन्ता यसोदा भट्टले मन्दिरमा गएर दक्षिणा चढाउनु भन्दा सबैले जिउँदो गौमातालाई सकेको सेवा गर्न आवश्यक रहेको बताईन् । शिद्धसरोबर गौशालाका सदस्य शेर बहादुर बमले गाईहरुको संरक्षणमा निकै समस्या भएको बताए ।
उनले गाईहरुको लालनपालनमा समस्या भएकाले सबैलाई सहयोगको आग्रह गरे । वडा नम्बर ६ का वडा अध्यक्ष फल्टेराम रानाले गाईहरुको संरक्षणमा वडा र नगरपालिकाबाट सबै व्यवस्थान गरिएको बताए ।
उनले गाईहरुको संरक्षणका लागि घाँस र पानीको व्यवस्थापन सहित ४ जना कर्मचारी परिचालन गरिएको बताए । ‘गाईहरुको राम्रो व्यवस्थापन गरेका छौ’ उनले भने ‘कुनै बुढा गाईहरु मरेका होलान । तर, गाईको संरक्षणमा कुनै समस्या छैन ।’
उनले गौशालामा अहिले दिनप्रतिदिन गाईहरु थपिने भएकाले व्यवस्थापनमा चुनौती थपिएकाले सबै वडा र नगरपालिकाबाट बजेट विनियोजन गर्नको लागि पहल गरिरहेको बताए ।

























