वीरगञ्ज । कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।
पर्सामा मात्रै कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । बुधबार विहान ६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पतालमा र दिउँसो ७१ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको हो नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए ।
७१ वर्षका पुरुष पखाला लागेर उपचारका लागि विभिन्न अस्पताल हुँदै नेशनल मेडिकल कलेजमा पुगेका थिए । उनको मिर्गौलामा समेत समस्या देखिएको थियो ।उनको साउन ११ गते आइतबार पैसा तिरेर पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब दिइएको परिवारका सदस्यले बताएका छन् ।
वृद्धको उपचारकै क्रममा मृत्यु भएको नेशनल मेडिकल कलेजका कोभिड फोकल पर्सन डा असरफ हुसैनले जानकारी दिए । ‘किड्नीसम्बन्धी समस्या सँगै निमोनिया पनि रहेछ ।
अवस्था गम्भीर थियो’ उनले भने ‘आउनेबित्तिकै अक्सिजन दिनुपर्यो, भेन्टिलेटरमा राखेर पनि उपचार गर्यौं तर बचाउन सकेनौं ।
’अर्का मृतक ६८ बर्षीय पुरुष भने मुटु र निमोनियाका बिरामी रहेको गण्डक कोभिड अस्पतालका कोअर्डिनेटर डा उदयनारायण सिंहले जानकारी दिए । एडभान्स अस्पतालमा उपचारको क्रममा साउन ७ गते उनमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भोलिपल्ट कोभिड विशेष अस्पतालमा भर्ना गरिएको थियो ।
गण्डक कोभिड अस्पतालमा ड्युटीमा रहेका डा। निरज सिंहले स्वास्थ्यमा सुधार हुँदै गर्दा अचानक उनको बुधबार बिहान मृत्यु भएको बताए ।‘