काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको केही समयपछि नै केपी ओलीमा ‘व्यक्तिवाद’ लाद्न खोजेको आरोप लगाएका छन ।



शुक्रबार ललितपुरमा नेकपा ललितपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा प्रचण्डले ओलीले एकता भएदेखि नै सहमति र समझदारी कायम गराउन नचाहेको र व्यक्तिवाद लाद्न खोजेको अरोप लगाएका हुन ।
उनले पार्टीमा सहमति र समझदारीको कुरा गर्ने बितिकै ओलीले फुटको धम्की दिने गरेको स्मरणा गर्दै ओलीको कम्युनिस्ट विरोधी कामले नै संघर्ष शुरु भएको धारणा राखे ।
उनले पटक-पटक ओलीले संविधान र लोकतन्त्रमाथि नै प्रहार गरेको बताए । ओलीकै कारण उपलब्धी धरापमाा परेको र मुलुक अध्यारो सुरुङमा जाने खतरा रहेकाले आफूहरु जनतामाझ आएको उनले बताए ।
प्रचण्डले ७० प्रतिशत भन्दा बढि केन्द्रीय सदस्य आफूहरुसंग रहेकाले आफूहरु नै आधिकारिक नेकपा भएको र निर्वाचन आयोगमा पनि दावी गरिएको जानकारी दिए । उनले पार्टी आफूहरुले नभई ओलीले फुटाएको तर्क गरे ।
कार्यक्रममा अर्का अध्यक्ष माधव कुमाार नेपालले ओलीमा अहंकार र व्यक्तिवाद हावी भएको आरोप लगाए । संविधान मिच्ने काम ओलीबाटै भएको भन्दै नेपालले प्रधानमन्त्री पदमा रहन ओलीलाई नैतिकताले पनि नलिने बताए ।
कार्यक्रममा नेकपा दाहाल–नेपाल पक्षकी नेतृ पम्फा भूषालले सरकारको नेतृत्व गरिरहेका ओलीको प्रतिगमनलाई प्ररास्त गरिने बताइन।

























