सुदूर पश्चिमका कुनै समूहमा नखुलेका नेकपाका दुई मेयरमध्ये एकलाई फकाउने कोसिसमा जुटेको नेकपा (माधब–प्रचण्ड समूह) ले अर्कोलाई भने वेवास्ता गरेको छ ।



पश्चिम टुडेमा नखुलेका दुई मेयरको साथ कसलाई शिर्षकमा समाचार प्रकाशित भएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टलाई फकाउन नेकपा (माधब–प्रचण्ड समूह) का सुदूर पश्चिम अध्यक्ष भानुभक्त जोशी र डा. तारा जोशी महेन्द्रनगर पुगे । दुबै जनाले छुट्टाछुट्टै भेटघाट गरेर मेयर बिष्टलाई आफ्नो पक्षमा खुल्न आग्रह मात्र गरेनन । मेयर बिष्टलाई सम्मानजनक पद दिने आश्वासन समेत दिए । स्रोतले भन्यो, बिष्टलाई फकाउन कुनै कसरत बाँकी नराखेको नेकपा (माधब–प्रचण्ड समूह) ले डडेल्धुराको अमरगढी नगरपालिकाका मेयर बिपिन ओझालाई भने पुरै वेवास्ता गरेको छ ।
मेयर बिष्टले पनि पश्चिम टुडेसंगको कुराकानीमा आफूलाई नेकपा (माधब–प्रचण्ड समूह) का नेताद्धय भानुभक्त जोशी र डा. तारा जोशीले भेटेको स्वीकार गरे ।
दुबै नेतासंग भेटघाट र छलफल भएपनि मेयर बिष्ट भने अझै कुनै समूहमा खुलेका छैनन ।
मेयर बिष्ट कुनै समूहमा नखुल्दा भीमदत्त नगरपालिका र कञ्चनपुरकै थुप्रै युवा नेता तथा पत्रकारहरु कुनै समूहमा खुलेका छैनन ।
उता अमरगढीका मेयर ओझासंग भने पहिलेदेखि नेकपा (माधब–प्रचण्ड समूह) का सुदूर पश्चिम ईञ्चार्ज भीम रावल र डडेल्धुराका नेता डा तारा जोशी असन्तुष्ट छन् । जस कारण ओझालाई फकाउन कसैले कोसिस गरेका छैनन ।
सुदूर पश्चिमका ८८ वटा तहमध्ये ४८ वटा तहमा नेकपाका प्रमुख छन् । नेकपा बिभाजित भएपछि २३ जना मेयर नेकपा (माधब–प्रचण्ड समूह) मा लागेका छन् । २१ जनाले ओली समूहलाई साथ दिएका छन् । चार जना अझै खुलेका छैनन । जसमध्ये भीमदत्त नगरपालिका र अमरगढीका मेयर कुनै समूहमा खुलेका छैनन । नेकपा (माधब–प्रचण्ड समूह) का नेता भीम रावलबाट आफूलाई संरक्षण हुन नसक्ने बताउदै आएका मेयर ओझा त्यही कारण ओली समूहसंग नजिकिएको स्रोतले बतायो ।

























