धनगढी, १७ माघ । सुदूरपश्चिम प्रदेशको चार सीमानाका शुक्रबारदेखि खुल्ला भएको छ । नेपाल सरकारको निर्णय अनुसार गृहमन्त्रालयले सुदूरपश्चिमको चारसहित उत्तर–दक्षिणतिर मुलुकभरिको ३० नाका खुल्ला गरेको हो ।



कोरोना महामारी सुरु भएपछि गएको चैत १० गतेदेखि नाकाहरु सिल गरिएको थियो । कोरोना सङ्क्रमण घट्दै जाँदा सरकारले १० महीनापछि नाका खुल्ला गरेको हो । सुदूरपश्चिमको गौरीफन्टा, कञ्चनपुरमा रहेको गड्डा चौकी, बैतडीको झुलाघाट र दार्चुला खलंगा÷पुलाघाट नाका खुल्ला गरिएको छ ।
गृह मन्त्रालयले नाका खुल्ला गरे पनि शुक्रबार पहिलो दिन गौरीफन्टा र गड्डा चौकी नाकाबाट भारतीय नागरिकलाई आउजाउ भएन । दुवै नाकाबाट नेपालीकोमात्रै आवतजावत भएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नाका खुलेको बारेमा सुरक्षाकर्मीलाई आधिकारिक जानकारी नदिएका कारण दुवै नाकाबाट नेपालीलाईमात्रै आउजाउ गर्न दिइएको हो । नेपालीमात्रैको यसरी आवतजावत विगत केहि महिना अगाडिदेखि नै हुदैं आएको छ ।
गृहमन्त्रालयले शुक्रबारदेखि गौरीफन्टा, कञ्चनपुरको गड्डा चौकी, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा÷पुलाघाट नाका खुल्ला गरेपछि स्वास्थ्यको मापदण्ड अपनाएर भारतीय नागरिक पनि आउन पाउने भएका छन् । तर, गौरीफन्टा र गड्डा चौकी नाकाबाट पहिलो दिन नेपालीकोमात्रै आउजाउ भएको छ ।
प्रशासनबाट आधिकारिक जानकारी नआएकाले नाका नखोलिएको गौरीफन्टा नाकामा खटेका सशस्त्र प्रहरी एमडी पन्तले बताए । ‘पहिलेको जस्तै नेपालीलाई भने आउन र जान दिइएको छ’, उनले भने । आधिकारिक जानकारी नआएकाले भारतीयलाई आउन नदिएको उनले बताए ।
सो नाकामा रोजगारीका लागि भारततिर जानेको लामो लाइन लागेको थियो । भने, उताबाट फर्किनेको सङ्ख्या न्यून थियो । उपचार र किनमेलका लागि उतातिर गएका नेपालीमात्रै फर्किने गरेको पन्तले बताए । उनका अनुसार शुक्रबार करिब डेढ सय जना नेपाली भारततिरबाट फर्किएका छन् । यसैगरी, झन्डै एक हजार मान्छे यताबाट भारततिर गएका छन् ।
यसैगरी, गड्डा चौकी नाकाबाट विहान ८ देखि १० बजेसम्म यताबाट नेपालीलाई भारततिर जान नदिइएको थियो । तर, उताबाट भने नेपालीलाईमात्रै दिनभरि आउन दिइएको जनाइएको छ । मेडिकल टिम नाकामा १० बजेसम्ममात्रै बस्ने गरेकाले टिम गएपछि यताबाट नेपालीलाई जान नदिइएको गड्डा चौकीमा खटेका एक सुरक्षाकर्मीले बताए ।
यसैगरी, झुलाघाट नाकामा भने विगत केही समयदेखि नै दुवै देशका अधिकारीको सहमतिमा एक÷दुई दिन दुवै देशका नागरिकलाई आउजाउन गर्न दिइएको थियो । सो नाका अब पूर्ण रुपमा खुलेको छ ।
नाका खोल्ने सरकारको निर्णय स्वागत योग्य रहेको होटल व्यवसायी संघ कैलालीको ठहर छ । संघले भारतीय पाहुना भित्र्याउनका लागि विगतदेखि नै नाका सहज बनाउनु पर्ने माग गर्दै आएको थियो । ढिलै भए पनि सरकारले गरेको निर्णय अत्यन्त सकारात्मक रहेको संघको ठहर छ ।
‘हामीले विगतदेखि नै नाका खोल्नु पर्ने माग राख्दै आएको हो र यसका लागि सरकारलाई दबाब पनि दिदैं आएका थियौं’, संघका अध्यक्ष कलमबहादुर बमले भने । ‘सरकारले ढिलै भए पनि खोल्ने निर्णय ग¥यो । यो सकारात्मक कार्य हो ।’
उनले भारतीयहरु आउँदामात्रै कोरोना सर्छ भने जस्तै गरेर धेरै समयसम्म नाका सिल गर्नु राम्रो नरहेको बताए । ‘यता आउने भारतीयहरु अवैध रुपमा चोर बाटोबाट आइसकेका छन्’, उनले भने । ‘अवैध रुपमा भित्र्याउनुभन्दा सुरक्षाको मापदण्ड अपनाएर उनीहरुलाई वैध रुपमै आउन दिनु पर्दछ । कोरोना भारतीय आएरमात्रै सर्छ भन्ने व्यवहार गर्नु हुन्न । किनकी, राजनीतिक रुपमा भीडभाड गर्ने, प्रदर्शन गर्ने कार्य यता दिनदिनै भइरहेकै छन् ।’
सीमावर्ती भारतीय बजारसम्म नेपालीहरु किनमेलका लागि जाने गरेका छन् । यसैगरी, किनमेलकै लागि भारतीय पनि नेपाली बजारमा आउने गरेका छन् । नाका सिलपछि भने सो कार्य बन्द भएको थियो । आर्थिक गतिविधि चलायमान बनाउनका लागि नाकामा सहज रुपमा आवतजावत गर्न दिइनु पर्ने अध्यक्ष बमको भनाइ छ । भारतीय नागरिक किनमेलका लागि आउँदा होटलकोसमेत कारोबार बढ्ने गरेको छ ।
यसैबीच, कञ्चनपुरमा शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले गौरीफन्टा र गड्डा चौकी नाकालाई शुक्रबार अपराह्न ५ बजेबाट नाका खोलेको छ । गृहमन्त्रालयले अन्तर्राष्ट्रिय नाका खोल्ने निर्णय गरेकाले दुवै नाका खोलेको सुरक्षा समितिले जनाएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समितिको बैठक बसेको थियो ।

























