२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

हेलिकोप्टर सेवाले खप्तड घुम्ने आन्तरिक पर्यटक बढे

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय एवं धार्मिकस्थल खप्तड घुम्न जानेहरुका लागि पाँचदिने ‘हेली टुर प्याकेज’ शुरु भएपछि खप्तड पुग्ने आन्तरिक पर्यटक बढ्न थालेका छन् । खप्तडको प्रवेशद्वार झिंग्रानामा रहेको ‘खप्तड होमस्टे’ आयोजना तथा माउण्टेन हेलिकप्टोरको सहकार्यमा उक्त ‘हेली टुर प्याकेज’ शुरु गरिएको हो ।

‘हेलि टुर प्याकेज’ शुरु भएसँगै अहिले खप्तड घुम्न आउने आन्तरिक पर्यटक बढेका र यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने अनुमान गरिएको खप्तड होमस्टेका सञ्चालक दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो “कोरोनाका कारण खप्तडमा पर्यटक आउन सकेका थिएनन्, अहिले कोरोनाको सङ्क्रमण कम छ र हामीले ‘हेली टुर’ प्याकेज पनि शुरु गरेपछि पर्यटकहरु आउन थालेका छन्, यहाँको वातावरण नै रमाइलो देखिएको छ ।”

यस प्याकेजअन्तर्गत खप्तड पुग्नका लागि दिपायलबाट प्रतिव्यक्ति रु १० हजार, झिंग्रानाबाट रु आठ हजार, अछामको साफेगर र बझाङको चैनपुरबाट रु १२ हजार तथा कैलालीबाट रु ३० हजार लाग्ने सो आयोजनाका अधिकारीले जनाएका छन् । यस आयोजनाको बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नुभएको हो । त्यस अवसरमाा मुख्यमन्त्री भट्टले खप्तड क्षेत्रको पर्यटकीय विकासका लागि प्रदेश सरकारले ठोस योजना बनाई अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “खप्तडको विकासका लागि प्रदेश सरकार ठोस योजना ल्याउने तयारीमा छ, चाडै हामी केही नयाँ काम गर्छाैं ।” सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली र डोटीबाट खप्तड जान हवाइ टिकटको व्यवस्था मिलाइएको आयोजकले जनाएका छन् । खप्तड क्षेत्र सुदूरपश्चिम प्रदेशको प्रमुख चिनारी हो ।

प्रदेशको प्रमुख धार्मिक पर्यटकीय स्थलसमेत रहेको खप्तड घुम्न ‘हेली टुर’ शुरु भएपछि स्थानीयवासीमा खुसियाली छाएको छ । प्याकेज शुरु भएको पहिलो दिन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, उद्योग पर्यटन वन तथा वातावर मन्त्री माया भट्टसहित २० जना खप्तड पुग्नुभएको थियो । साथै यसै दिन अरु ५० जनाभन्दा बढी पर्यटक पनि हेलिकोप्टरमार्फत खप्तड पुगेको खप्तड पर्यटन विकास समिति डोटीले जनाएको छ । हिउँदे यामको दृश्य कैद गर्न इच्छुक पर्यटकहरूका लागि अहिले खप्तड क्षेत्र निकै मनमोहक भएको खप्तड पर्यटन विकास समितिका अध्यक्ष हर्कबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “खप्तड आफैंमा सुन्दर क्षेत्र हो, अहिलेको याम (पुसदेखि जेठसम्म) निकै मनमोहक हुन्छ, त्यसमा पनि ‘हेली टुर’ प्याकेज शुरु भएकाले पर्यटकलाई झनै राम्रो भएको छ ।”

हेलिकोप्टरमार्फत खप्तड घुम्नका लागि पाँच किसिमका प्याकेज रहेको बताइएको छ । कैलाली, दिपायल, झिग्राना, बझाङ र अछामबाट खप्तड पुग्न र घुम्न छुट्टाछुट्टै प्याकेज ल्याइएको छ । मनोरम दृश्य अवलोकनसहितको आनन्ददायी यात्रा रहेकोले पर्यटक बढ्ने आयोजकको दाबी छ । सुदूरपश्चिम प्रदेशको मुख्य पर्यटकीय चिनारी रहेको खप्तडको जगेर्ना र प्रचारप्रसार गर्न सके प्रदेशको गरिमा बढ्ने र आयआर्जनको वातावरण सिर्जना हुने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले खप्तडको मात्रै विकास गर्न सके यहाँको आयआर्जनमा उलेख्य विकास हुनेछ, हामी खप्तडको विकासमा लागि परेका छौँ ।”

खप्तड राष्ट्रिय निकुञ्जलाई प्राकृतिक सौन्दर्यको खानी मानिन्छ । यतिमात्र नभइ खप्तडलाई धर्तीको स्वर्गको उपमा पनि दिइएको छ । सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, अछाम तथा डोटी जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तडमा २२ वटा घाँसे मैदान अर्थात् पाटन रहेका छन् । सुन्दर घाँसे मैदानमा पुग्नेवित्तिकै यात्रीको थकान मेटिन्छ । यसको वरिपरि ५३ वटा थुम्का छन्, जसलाई स्थानीय भाषामा झोती भन्ने गरिएको खप्तडसँग सीमा जोडिएको डोटीको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटील बताउनुभयो । उहाँका अनुसरा खप्तडको मुख्य आकर्षण भनेको त्यहाँका घाँसै मैदान, खप्तड दह, नागढुंगा, केदार ढुंगा, खप्तडबाबा आश्रम, शिवमन्दिर हुन् । यो ५० वर्ष पहिले खप्तडबाबाले तपस्या गरेको एक पवित्र ठाउँ पनि हो । खप्तड प्रकृतिप्रेमीलाई मात्र नभई, धार्मिक पर्यटकलाई समेत उपयुक्त गन्तव्यका रुपमा चिनिदै आएको स्थानीयबासीहरु बताउँछन् ।

सुदूरपश्चिम प्रदेशको सबैभन्दा प्रसिद्ध गन्तव्यस्थल खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ । चैत वैशाखमा खप्तड घुम्न गएमा रंगीबिरंगी लालीगुराँस फुलेको देख्न पाइन्छ भने अहिलेको समयमा हिउँदे यामको दृश्य अवलोकन गर्न सकिन्छ । खप्तडको सबैभन्दा आकर्षक पक्ष हो गंगा दशहरा मेला । प्रत्येक वर्षको जेठ महिनामा यहाँ भव्य मेला लाग्ने गर्छ । सुदूरपश्चिमका नौवटै जिल्लासहित देशभर तथा छिमेकी मुलुक भारतबाट पनि यहाँ भक्तजनको भीड लाग्ने गर्दछ ।

खप्तडक्षेत्रको बीचमा उभिएको १२ हजार फिट अग्लो खप्तड लेक पर्दछ । खप्तडबाबाको कुटी, त्रिवेणी नदी खापर दह, शिवमन्दिर सहस्रलिंग गणेश मन्दिर, नागढुंगा, केदारढुंगा जस्ता धार्मिकस्थल निकै प्रख्यात छन् । सदियौँदेखि खप्तडमा लाग्ने विविध सांस्कृतिक मेलामध्ये गंगा दसहरामा हजारौँ तीर्थयात्री भेला हुन्छन् । त्रिवेणी नदीमा स्नान गर्नुका साथै सुदूरपश्चिमकै प्रसिद्ध हुड्के नाच हेर्न स्थानीयवासी जम्मा हुने गर्छन् । किंवदन्तीअनुसार दोस्रो नम्बरका पाण्डव भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट खप्तडका थुम्का बनेको भनिन्छ । यो समयमा यहाँ निकै चिसो छ । वर्षामा घाँसे मैदानले रमणीय देखिने खप्तडका पाटनहरु अहिले हिउँ नपर्दा खुला देखिएका छन् ।

अध्यात्मिक र असाधारण तपस्वीका रुपमा चिनिने खप्तडबाबाले ५० वर्षको तपस्यापछि सुदूरपश्चिमका चार पहाडी जिल्लाको सिमानामा पर्ने खप्तड क्षेत्रलाई ‘भूस्वर्ग’ को उपनाम दिदै संसारभर प्रचार गर्नुभयो । त्यसअघि निगालोको जंगलका रुपमा गुमनाम खप्तडलाई अहिले सुदूरपश्चिमेलीहरु प्रकृतिले दिएको सुन्दर उपहारका रुपमा बुझिरहेका छन् । तर खप्तडमा भएको खजनालाई कसैले पनि उपयोगमा ल्याउन नसकेको दिपायल सिलगढी नगरपालिकाका पूर्व नगरप्रमुख घनश्याम पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “खप्तड प्रकृतिको खजना हो भन्ने जान्दाजान्दै पनि उपयोगमा ल्याउन नसक्नु हाम्रो कमजोरी हो । हामीले केही गरेजस्तो त गरेका छौँ तर त्यो सबै बजेट सक्ने काममात्र हो ।” खप्तड स्वामी (बाबा) ले भनेझँै खप्तड पर्यटकहरुका लागि भूस्वर्गभन्दा कम छैन । अहिले सुदूरपश्चिमेलीहरुले बुझेझैँ खजानाभन्दा पनि कम छैन । गलैँचा ओछ्याएजस्तै विशाल हरिया फाँटहरु, मनै लोभ्याउने रंगीचंगी फूल, आश्चर्य लाग्ने त्यहाँको मौसम सायदै पृथ्वीका कुनै कुनामा होलान् ।

कुल २२ पाटन ५२ झोती भएको नेपालको एकमात्र राष्ट्रिय निकुञ्ज पनि हो खप्तड । हिउद, वर्षा, गर्मी मौसममा भिन्न रुपमा प्रस्तुत हुने खप्तड धेरैका लागि नपुगी नहुने गन्तव्य भएको होटेल व्यवसायी संघ डोटीका अध्यक्ष राजेन्द्रबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “मनमा भएका अशान्ति हटाउनु छ र प्रकृतिसँग रमाउनु छ भने एक पटक खप्तड घुम्नु अनिवार्य छ ।” खप्तड राष्ट्रिय निकुञ्जका अनुसार त्यहाँ चार रैथानेसहित १३५ प्रजातीका फूल नियाल्न सकिन्छ । उक्त क्षेत्रमा मात्रै २२४ प्रजातिका जडीबुटी, ५३७ प्रजातिका वनस्पति, २७० जातका चराचुरुङ्गी रहेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयमा उल्लेख गरिएको छ । उक्त ठाउँमा सहस्रलिंग , नागढुंगा, ताल, दुर्लभ बझाङ्गी भ्यागुता खप्तडले पाएका भिन्नै उपहार पनि ।

प्रकृतिले त खप्तड धनी छ नै । धार्मीक रुपले पनि त्यत्तिकै प्रसिद्ध छ । खप्तडको त्रिवेणी मन्दिर धार्मिक रुपले महत्वपूर्ण मानिन्छ । गंगादशहराका दिन पूजा गरिने त्रिवेणी मन्दिरमा दर्शनार्थीहरुको ओइरो लाग्ने गर्छ । त्योसँगै खप्तड बाबाको कुटीको पनि विशेष महत्व छ । भारतको कोलकतास्थित ट्र«पिकल कलेजबाट एमबिबिएस र बेलायतबाट सर्जनको अध्ययन गरेका खप्तडबाबा प्रसिद्ध डाक्टर हुनुहुन्थ्यो । तर सन्यास लिएर उहाँले सन् १९४६ मा खप्तड आइ तपस्या गरेको भन्ने विभिन्न किताबमा उल्लेख गरेको पाइन्छ । खप्तडबाबाले तपस्या गरेको स्थान, उहाँले प्रयोग गर्ने लुगाकपडा, सरसामग्री र उहाँको कुटी अहिले पनि सुरक्षित राखिएको छ ।

खप्तडबारे डेढ दर्जन पुस्तक लेखेका खप्तड बाबाबारे जान्न चाहनेका लागि पनि एक अध्ययनको क्षेत्र हो खप्तड । समुद्री सतहदेखि दुई हजार ७०० देखि तीन हजार २२७ मिटरसम्मको उचाइमा अवस्थित खप्तड २२५ वर्गकिलोमीटर क्षेत्रफलमा फैलिएको छ । कहिले हिउँभित्र लुक्ने त कहिले रंगीचङ्गी फूलहरुसँग जिस्कने खप्तड धेरैका लागि अध्ययनको विषयवस्तु बन्नसक्ने खप्तड पर्यटन विकास समितिका पूर्व अध्यक्ष पूर्णराज जोशीले बताउनुभयो । खप्तडलाई प्राकृतिको सुन्दरतासँग मात्र नराखेर धार्मिक आस्थाका रुपमा सम्मान गर्नेहरु पनि अधिक छन् । त्रिवेणी, खापरदह, सहस्रलिङ्ग, नागढुंगा, गणेशस्थान जस्ता सांस्कृतिक महत्व बोकेका धार्मिकस्थल पनि खप्तडमा रहेकाले उनीहरुले यसलाई एक धार्मिकस्थलका रुपमा सम्मान गर्ने गर्दछन् ।

पर्यटकीय दृष्टिले खप्तड अत्यन्त उर्वर क्षेत्र हो । यहाँ पर्यटक ल्याउन सक्ने हो भने खप्तडको सिमाना जोडिएका बझाङ, बाजुरा, अछाम र डोटीका चार जिल्लाको आन्तरिक आयस्रोतमा ठूलो परिवर्तन आउने खप्तड मध्यावर्ती क्षेत्र विकास समितिका पूर्व अध्यक्ष लालबहादुर बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिमको विकास गर्न पहिले खप्तड क्षेत्रको पर्यटकीय रुपमा विकास गर्नु जरुरी छ ।” पर्यावरणीय र धार्मिक पर्यटनसँगै अनुसन्धानकर्ताका लागिसमेत उपयुक्त रहेकोले यो क्षेत्रको विकास जरुरी छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।