मुम्बई । अभिनेत्री तापसी पन्नु हिजोआज छायांकन सेटमा नभई क्रिकेट मैदानमा पसिना बगाउँदै भेटिन्छिन् । उनी नयाँ चलचित्र ‘शाबास मिठु’का लागि क्रिकेट प्रशिक्षण लिँदै छिन् ।



क्रिकेटर मिताली राजको जीवनमा आधारित रहेर बन्न लागेको सो चलचित्रमा तापसीले क्रिकेटर मितालीको भूमिका निभाउँदै छिन् । सोही पात्रका लागि तापसी अहिले कोच नुशील अल खादिरको प्रशिक्षणमा आफूलाई तयार गर्दै छिन् ।
तापसी पर्दामा आफूलाई एक प्रोफेसनल क्रिकेटरको रुपमा प्रस्तुत गर्न हरेक सानोभन्दा सानो कुरामा ध्यान दिइरहेकी छिन् । तापसी भन्छिन्, “मैले यसअघि कहिल्यै क्रिकेट खेलेको छैन, केवल एक दर्शकको रुपमा मात्रै थिएँ । यो मैले आफैँलाई दिएको एकदमै ठूलो चुनौती हुनेछ । तर, मलाई लाग्छ, दबबाले मभित्रको क्षमता बाहिर ल्या’छ । यो नै मेरो र मितालीमा भएको एउटा साझा विशेषता हो ।”
प्रिया अवेनको लेखन र राहुल ढोलकियाको निर्देशनमा बन्ने चलचित्र भारतीय महिला किक्रेट टिमकी कप्तान मितालीको प्रेरणादायी कथा हो । बलिउड हंगामाबाट ।

























