बझाङ- बझाङको छविस पाथिभेरा गाउँपालिकाका अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकालाई बिहीवार प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङले पत्रकार सम्मेलनको आयोजना गरि हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको हो ।



छविस पाथीभेरा गाउँपालिका वडा नम्बर २ का बर्ष ३२ बर्षीय ज्ञानवहादुर कठायत, बर्ष ३६ को विकास ऐडी, ३४ बर्षको प्रकाश ऐडी र ३७ बर्षीय केदारमान ऐडीलाई पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले जानकारी दिए । २३ बर्षीय अमृत सिंहको मंगलबार राती खुँडा प्रहार गरि हत्या भएको थियो ।
सिंह नेपाल तरुण दल छविसपाथिभेरा गाउँपालिकाका सदस्य हुन । मंगलबार दिउसो छविस पाथीभेरा गाउँपालिकामा रहेको बान्नीचौर माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा काङग्रेस समर्थक उम्मेदवार विजयी भएको झोंकमा नेकपा समर्थकहरुले सिंहमाथि साँझ खुडा प्रहार गरेका थिए । सिंहको घटनास्थलमा नै मृत्यु भएको थियो ।

























