छविस पाथिभेरा गाउँपालिका वडा नं ३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा वडा अध्यक्ष सहित चार जना पक्राउ परेका छन । सिंहको मंगलबार राती खुँडा प्रहार गरि हत्या भएको थियो ।



२३ वर्षिय सिंह नेपाल तरुण दल छविसपाथीभेरा गाउँपालिकाका सदस्य हुन ।
हत्या अभियोगमा पक्राउ पर्नेहरुमा छविस पाथीभेरा गाउँपालिका २, का वडा अध्यक्ष विकास अयडी, सोही ठाउँका प्रकास अयडी, केदार अयडी र ज्ञान वहादुर कठायत रहेका छन ।
हत्या घटनामा वडाध्यक्ष विकास अयडी चढ्ने से १ प ७६१ नम्बरको सरकारी मोटरसाइकल प्रयोग भएको प्रहरीले बताएको छ । प्रहरीले मोटरसाइकल सहित वडाअध्यक्ष अयडीलाई सदरमुकाम चैनपुरको एक होटलबाट मंगलबार राती पक्राउ गरेको थियो भने ज्ञानवहादुर कठायतलाई मंगलवार नै घटना स्थलबाट स्थानियले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
हत्या अभियोग लागेका अर्का अभियुक्त प्रकास अयडी र केदार अयडीलाई थलारा गाउँपालिका वडा नं ३, को जाम्बाँझ गाउँबाट बुधबार विहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए ।
हत्यामा संलग्न रहेको आशंकामा रहेका सबै पक्राउ परिसकेको बताउदै खड्काले थप अनुसन्धान भैरहेकोले छिट्टै यथार्थ पत्ता लाग्ने बताए ।
यसैबीच हत्यारालाई कारबाहीको माग गर्दै सदरमुकाम चैनपुरमा प्रर्दशन गरिएको छ । प्रर्दशनकारीले नाराजुलुस गर्दै सदरमुकाम भित्र चल्ने यातायात समेत बन्द गराएका छन । उनीहरुले जिल्ला प्रशाशन कार्यालयको मुल गेटमा टायर बालेर हत्या अभियुक्तलाई कडा कारबाही हुनु पर्ने माग गरेका छन ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रसका पुर्व सभापती पृथ्वी बहादुर सिंहले राजनितिक आवरणमा भएको हत्याको घटनामा संलग्नलाई उम्काउन प्रयास हुने आसंका व्यक्त गरेका थिए । ‘शक्ता र शक्ती प्रयोग गरेर अपराधीलाई उम्काउने प्रयास हुन सक्छ । यसमा हामीले निरन्तर खवरदारी गर्नै पर्छ ।’ उनले भने ।
मंगलबार दिउसो छविस पाथीभेरा गाउँपालिकामा रहेको बान्नीचौर माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा काङग्रेस समर्थक उम्मेदवार विजयी भएको झोंकमा नेकपा समर्थकहरुले सिंह माथि साँझ ७ वजे तिर खुडा प्रहार गरेका थिए । सिंहको घटना स्थलमा नै मृत्यु भएको थियो । उनको शव जिल्ला अस्पताल सिमखेतमा राखिएको छ ।


















