डडेल्धुरा : डडेल्धुरामा पनि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ। बुधबार अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझालाई खोप लगाएर अभियान सुरु भएको हो।



कोरोनाविरुद्धको सुरक्षित खोप लगाउनका लागि डराउनु पर्दैन भन्ने सन्देश दिनका लागि आफूले डडेल्धुरामा सुरुमै खोप लगाएको नगरप्रमुख ओझाले प्रतिक्रिया दिए।
स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले पहिलो चरणमा एक हजार एक सय ३५ जनालाई खोप लगाइने जानकारी दिए। उनका अनुसार डडेल्धुरा अस्पताल डडेल्धुरालाई खोप केन्द्र तोकिएको छ।
बुधबारदेखि १८ गतेसम्म लगाइने पहिलो चरणको खोपमा अग्रपंक्तिमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लगाइने भएको छ।
प्रमुख श्रेष्ठका अनुसार कोरोना खोप आज स्वास्थ्य कार्यालय, डडेल्धुरा अस्पताल, जिल्ला प्रशासन कार्यालय, अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, कर्मचारी र अमरगढी नगरपालिकाबाट कोरोनाका क्षेत्रमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लगाइने छ।
यस्तै भोली अर्थात १५ गते कोरोनाका क्षेत्रमा खटिएका गन्यापधुरा र नवदुर्गा गाउँपालिकाका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लगाइने छ।
भने, १६ गते अजयमेरु र भागेस्वर गाउँपालिकाका चिकित्सक तथा स्वास्थ्यकर्मी, १७ गते आलिताल गाउँपालिका र परशुराम नगरपालिकाका चिकित्सक तथा स्वास्थ्यकर्मी र १८ गते सबै छुट भएका सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लगाइने उनले बताए।

























