महेन्द्रनगर । बझाङमा खुँडा प्रहार गरि युवकको हत्या गरिएको भएको छ जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताए ।



गाउँपालिकाको वडा नम्बर ३ मै रहेको बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको उनले बताए ।
खुँडा प्रहार गर्ने मध्येका एक जना सोही गाउँपालिका –२ का ज्ञानबहादुर कडायत पक्राउ परेका छन् । खुँडा प्रहार गर्ने मध्येका एक युवक भने फरार रहेकाले उनको खोजी कार्य भइरहेको बताइएको छ ।
लामो समयदेखी विवादका कारण रोकिएको विद्यालय व्यवस्थापन समितिको चुनाव मंगलबार पनि विवाद हुँदा सुरक्षाकर्मीको बिचमा गराइएको थियो । चुनाव कांग्रेस पक्षधरले जितेपछि कम्युनिस्ट पक्ष आक्रोशित भएको जनाइएको छ । आक्रोशित कम्युनिस्ट कार्यकर्ताले तरुण दल छबिसपाथिभेराका सदस्य समेत रहेका सिंहको हत्या गरेको जनाइएको छ ।
विद्यालय व्यवस्थापन समितिमा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी निकट उम्मेदवार गजेन्द्र धामी २८ मतले काँग्रेस निकट उम्मेदवार लोेकेन्द्र बोहरासँग पराजीत भएका थिए ।


















