डडेल्धुरा – डडेल्धुरामा बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदै छ। भारत सरकारको सहयोगमा ल्याइएको खोप डडेल्धुरा पुगाईएपछि खोप अभियान सुरु गरिन थालिएको हो।



स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले डडेल्धुरामा एक हजार एक सय ३५ जनालाई पुग्ने खोप मंगलबार डडेल्धुरा पुगिसकेकाे जानकारी दिए।
यता डडेल्धुरा अस्पताल डडेल्धुरालाई खोप केन्द्र तोकिएको छ। १४ गते देखि १८ गतेसम्म लगाइने पहिलो चरणको खोपमा अग्रपंक्तिमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लगाइने भएको छ।
प्रमुख श्रेष्ठका अनुसार कोरोना खोप १४ गते स्वास्थ्य कार्यालय, डडेल्धुरा अस्पताल, जिल्ला प्रशासन कार्यालय, अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, कर्मचारी र अमरगढी नगरपालिकाबाट कोरोनाका क्षेत्रमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी, १५ गते कोरोनाका क्षेत्रमा खटिएका गन्यापधुरा र नवदुर्गा गाउँपालिकाका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लगाइने छ।
यस्तै १६ गते अजयमेरु र भागेश्वर गाउँपालिकाका चिकित्सक तथा स्वास्थ्यकर्मी, १७ गते आलिताल गाउँपालिका र परशुराम नगरपालिकाका चिकित्सक तथा स्वास्थ्यकर्मी र १८ गते सबै छुट भएका सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लगाइने बताए।

























