दार्चुला। जिल्लामा मंगलबार बिहान पहिरो जाँदा बेपत्ता भएका दुवै जनाको शव फेला परेको छ । दुहुँ गाउँपालिका–३, सल्लेखेतीमा बिहान पहिरोले घर पुरिँदा ५० वर्षीय रामदत्त जोशी र उनकी श्रीमती ४५ वर्षीया इन्द्रा जोशी बेपत्ता भएका थिए ।
पहिरो गएका बेला उनीहरुका २१ वर्षीय छोरा सुनिल घर बाहिर निस्केकाले बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए।
व्रह्मदेव प्रहरी चौकी तथा जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलमा पुगेपछि स्थानीयको सहयोगमा उद्धार गरिएको हो। राती सुतेको बेला घर माथिबाट पहिरो खस्दा घर नै पुरिएको छ । गोठमा रहेका एक भैँसी र चार वटा बाख्रा समेत पहिरोले पुरिएका छन् ।
यो वर्ष मनसुन सुरु भएपछि दार्चुलाको नौगाड गाउँपालिकाका पाँच जना र मालिकार्जुन पस्तीमा गएको पहिरोमा लेकम गाउँपालिकाका दुई जनाले ज्यान गुमाएका थिए ।एक महिनामा पहिरोमा परी दार्चुला जिल्लाभरीमा ९ जनाले अकालमै ज्यान गुमाउनुपरेको छ ।
बाढी र पहिरोबाट एक महिनामा दर्जनौ जनावर र करोडौँको भौतिक सम्पत्ती समेत क्षती भएको छ। पहिरोले नौगाड गाउँपालिकामा सबैभन्दा बढी क्षती पुर्याएको छ । दार्चुलाका सबै स्थानीय तह बाढी पहिरोको उच्च जोखिममा रहेकोले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले सबैलाई अनुरोध गरेको छ ।