काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा वार्ता भएको छ ।




नेकपाको शुक्रबारको विरोध प्रदर्शनपछि प्रचण्ड र भट्टराईबीच उपराष्ट्रपति निवास लैनचौरमा भेटवार्ता भएको हो ।
अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा रहेका प्रचण्ड र भट्टराई ओलीलाई हटाउने विषयमा एक ठाउमा आएका हुन् ।
भेट बारे डा. भट्टराईले संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरूप आफूले प्रचण्डलगायतका नेताहरूलाई भेटेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठ्ने बेला आएको छ । यसै क्रममा मैले ओली प्रतिगमनविरूद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरूप पूर्वप्रम र दलका नेताहरू शेरबहादुर देउवा, माधव नेपाल, प्रचण्डलगायत अन्य नेताहरूसँग भेटघाट गरेको हूँ । गर्दैरहनेछु !’


























