२०८३ असार १० बुधबार
२०८३ असार १० बुधबार

स्वस्तिमाकने आँखामा रंगमञ्चको रङ

अनामनगरको मण्डला थिएटरमा मंगलबार विशेष कार्यक्रममा पत्रकारसँग सवाल–जवाफका क्रममा लेखक तथा पत्रकार नारायण वाग्ले भन्दै थिए, ‘यो (पल्पसा क्याफे) प्रेमकथा नै भन्छु । एउटा समयको प्रेमकथा हो ।’ यो पुस्तकलाई बुझ्न उनले पहिलेको समयमा फर्कन जरुरी रहेको बताए । यसअघि उनको भनाइ थियो, ‘मैले कहिल्यै पनि द्वन्द्वको कथा भनेको छैन ।’ तर, समीक्षकहरूले चाहिँ पल्पसा क्याफेलाई द्वन्द्वको कथा भनिदिएको उनले बताए । अक्सर पाठकहरूको पनि प्रतिक्रिया आउँछ, पल्पसा क्याफे द्वन्द्वकै कथा हो । प्रेम त छ, त्यसलाई ऊवेलाको परिस्थितिले थिचिदिएको छ । लेखकको आफ्नै तर्क, पाठक÷समीक्षकका आफ्नै तर्क । सायद, उपन्यासको सौन्दर्य नै यही हो । 

कस्तो लाग्यो त ‘पल्पसा क्याफे’ ? यही उपन्यासमाथि तयार भइरहेको नाटकमा पल्पसाको भूमिका निभाउँदै गरेकी अभिनेत्री स्वस्तिमा खड्कालाई सोधियो । उनको जवाफ थियो, ‘किताब पढ्दा जनयुद्धकालीन समयको चित्रांकन पाएँ ।’ अनि उपन्यासकी पात्र पल्पसामाथि कस्तो इमेज बनेको थियो ? ‘पल्पसाभन्दा पनि त्यो परिस्थितिको दृश्यांकन भयो,’ उनले भनिन् ।

पल्पसा क्याफेकी पल्पसाको अवतारमा देखिने अभिनेत्री स्वस्तिमाले यसअघि कहिल्यै प्रत्यक्ष रूपमा नारायण वाग्लेलाई भेटेकी थिइनन् । त्यही कार्यक्रममा भेट्ने अवसर जु¥यो । वाग्लेसँग प्रथम भेट हुँदाको अनुभव उनी यसरी साट्छिन्, ‘उहाँ मञ्चमा बोलिरहँदा उहाँले लेखेको किताब रिकल भइरहेको थियो । उपन्यासका ती अवस्था र परिवेशमा पुगिरहेकी थिएँ । अनि उहाँले नै लेख्नुभएको हो नि है भन्ने भइरहेको थियो ।’

०००

कक्षा ७ मा पढ्दा श्रव्यमार्फत छिचोलेकी थिइन् स्वस्तिमाले ‘पल्पसा क्याफे’ । पाना पल्टाएरैचाहिँ अलि ढिला पढिन्, तर तीनपटक । पहिलोपटक फेरि कथा छिचोल्न, दोस्रोपटक पात्रको दृश्यांकनका लागि, तेस्रोपटक कथाको सेटिङ बुझ्न । जसको कारण नाटकै थियो, जो नाट्यकर्मी विमल सुवेदीले निर्देशन गर्दै छन् । यसै उपन्यासको ‘पल्पसा’ बनेर स्वस्तिमा रंगमञ्चमा उत्रिँदै छिन् । तर, स्वस्तिमा पल्पसाको आँखाबाट मात्र जनयुद्ध अथवा नारायण वाग्लेकै शब्दमा त्यो समयलाई हेर्दै छैनन् । उनले के कसरी जनयुद्धलाई देखेकी थिइन् र महसुस गरेकी थिइन्, त्यो अनुभूति र बुझाइको रङ पनि पल्पसामा मिसाउँदै छिन् । 

जनयुद्धकालीन समयमा स्वस्तिमाले प्राथमिक तह पनि छिचोलेकी थिइनन् । त्यसवेलाको बालसुलभ बुझाइ अर्कै थियो उनको । जनयुद्ध उनका लागि त्रास थियो । भय थियो । बन्दुक र गोलीको कथा थियो । मान्छे मरेको खबर थियो । घरका ठूलाबडा, आफन्तहरूबाट सुनेकी जो थिइन् । सुनेको कुरालाई आफ्नै बालचेतले अथ्र्याएकी थिइन् । 

यस हिसाबले पनि अब पल्पसा नारायण वाग्लेको किताबकी पल्पसा मात्र रहनेछैनन् । यसमा स्वस्तिमा खड्का पनि मिसिनेछिन् । उनको जवाफले यही भनिरहेको थियो । पल्पसा र स्वस्तिमाबीच सेतुको काम निर्देशक विमलकै जिम्मामा छ । नाट्य रूपान्तरण गरेका लेखक सुरज सुवेदीकै काँधमा छ । यस समयकी स्वस्तिमा र त्यस समयकी पल्पसाको मिश्रित अनुहार नियाल्ने अवसर भने आउँदो वैशाखपछि मात्र जुर्नेछ । नाट्य लेखक सुरज र निर्देशक विमलले पल्पसालाई उपन्यासको पानाबाट बाहिर जो निकालेका छन् । 

‘रिडिङ… रिडिङ…. रिडिङ…. ।’

मात्र रिडिङ अर्थात् लगातार अध्ययन । रिसर्च रिडिङ, नाटकको स्क्रिप्ट रिडिङ, उपन्यास रिडिङ, पात्र र परिवेश अनि समय रिडिङ । यो बीचमा स्वस्तिमाले निरन्तर गरेको काम यही हो । अनि लगातार रिहर्सल । तर, अझै ‘प्रपर आउटलाइन’ (स्वस्तिमाकै शब्द) तयार भइसकेको छैन ।

यही अभ्यासबीच उनले बुझिन्, ‘नाटक त सिनेमाजस्तो नहुँदो रहेछ ।’ लगातारको अध्ययन । लगातारको अभ्यास । अन्तिममा लगातारको प्रस्तुति । त्यो पनि प्रत्येक दिन दर्शक साक्षी राखेर । रेकर्डेड अभिनय दर्शकको अघि हलमा पस्कने बानी लागेकी स्वस्तिमालाई दबाब र चुनौती महसुस त हुने नै भयो । एक टेक डन भएपछि हजारौँ दर्शकबीच नाटक जो पुग्दैन । ‘तर, चुनौती पनि मजा लागिरहेको छ,’ उनी मुस्कुराउँदै भन्छिन् ।

नाटक त नाटक भयो, तर सिनेमा ? के नेपाली सिनेक्षेत्रमा पनि यस्तै मिहिनेत हुन्छ ? उनको अनुभवले भन्छ, ‘हुँदैन । पक्का हुँदैन ।’ सिनेमाको प्रि–प्रोडक्सनमै ठूलो हेलचेक्र्याइँ भइदिन्छ । ठूलो गल्ती त्यहीँ भइदिन्छ । स्क्रिप्ट लक हुनुअघि धेरै काम उधारै हुन्छन् । उता स्क्रिप्ट लेखिरहेको हुन्छ लेखक, आधाउधी सकिएको पनि हुँदैन । यता सिनेमाको घोषणा हुन्छ । प्रदर्शन मिति पनि तय हुन्छ । सानो कुरा मात्र बिग्रँदैन, धेरै कुरा बिग्रिएर आउँछ । ‘तर, नाटकमा सानो कुरा भन्ने नै हुँदैन । सानो गल्ती भन्ने नै हुँदैन ।’

०००

सिनेमामा केही मिलेन भने ‘भोलि सेटमै मिलाऔँला’ भनेर काम थाती राखेका घटना स्वस्तिमासँग धेरै छन् । वर्कसपको कुरा आउँछ अचेल । तर, भनेजस्तो राम्रो हुँदैन, उनकै अनुभवले भन्छ । वर्कसप, प्रि–प्रोडक्सनमा समय दिने हो भने कलाकारबीच बन्डिङ हुन्छ, निर्देशकको आइडियाबारे छलफल हुन्छ, निर्माताको चाहनामाथि विमर्श हुन्छ । तर, यी सब दूरदूरकी बात भइदिने स्वस्तिमा खुलेर बताउँछिन् । ‘खासमा हामी सिनेमामा गम्भीर छैनौँ । सबै कुरालाई सहज रूपमा लिन्छौँ । हाम्रो सिनेमा बनाउने सबै प्रोसेस नै गलत भइरहेको छ,’ उनी भन्छिन् । 

मेकअप कलाकारसम्म आफ्नो काम र पेसाप्रति गम्भीर नभएको घटना यथावत् छँदैछन् । पेसा नै सिनेमा भएपछि पेसागत धर्म यथावत् भइजान्छ । तर, करोडौँ लगानी गरेका निर्मातासम्म कामप्रति गम्भीर नभइदिने गर्छन् । ‘कलाकारलाई त समय दिएर पेलेर राम्रो काम निकाल्नुपर्ने हो, त्यो हुँदैन,’ उनको गुनासो यस्तै छ, ‘डेडिकेसन नै छैन कसैको ।’ 

तर, स्वस्तिमाको छ त ? ‘कहिलेकाहीँ थोरै तयारी गर्छु, एकछिन समय लाग्छ भनेर सेटमा भन्यो भने दशथरी कुरा आइजान्छन् । यसलाई कुर्नुपर्छ भन्छन् । प्रोडक्सन कस्ट बढेको कुरा हुन्छ । त्यसपछि त्यही परिवेशभित्र नछिरी धरै हुन्न,’ लगातार बोलिरहन्छिन् उनी । तर, पल्पसा क्याफेमा सुरुवातमा स्वस्तिमाको ४५ मिनेटको सिन छ । डाइलग छन् । यसैमा घोत्लिरहेकी छिन् । उनलाई घोत्लन ऊर्जा र सहयोग गर्ने काम निर्देशक विमलले गरिरहेका छन् । 

विमल सन् २०१८ मा पोखरामा बेपत्ता पारिएका नागरिकको कथा सामूहिक रूपमा भन्न ‘प्ले मेकिङ वर्कसप’ मा सहभागी थिए । पीडित परिवारसँग भेटेर कथा सुने । नाटकमा उतारे ‘खबर हराएको चिठी’ नाम दिएर । मञ्चन गरे । तर, द्वन्द्वको विषय उठाउने चाहना अचानक बढेर आयो विमलमा । 

हुटहुटी चिर्न कथा खोजिबस्दा पल्पसा क्याफे विमलको हात प¥यो । नारायण वाग्लेले कार्यक्रममा भनेजस्तो विमललाई पल्पसा क्याफे प्रेमकथा मात्रै लागेन । सायद, द्वन्द्वकालीन समयको प्रेमकथा लाग्यो कि ! तर, विमल द्वन्द्वकालीन समयको कथा भन्न पल्पसा क्याफेतिर लागे । त्यही क्याफेमा दर्शकलाई नाटकको स्वाद दिलाउन स्वस्तिमा पनि लागिपरेकी छिन् । समापिका गौतम, साजनकुमार सुनुवार, जेनु सुनुवार, दिपेश राई, बच्चु हिमांशु, रामप्रसाद परियार, निमा शेर्पा, पूर्णिमा आचार्य, सुष्मा राई, रोशन निरौला र कपिल राई पनि कलाकारका रूपमा देखिँदै छन् । सुजन ओली, नवराज पराजुली, लेनिन बन्जाडे, रामप्रसाद बस्याल, रेनुका कार्की, रामप्रसाद परियार, राजेन्द्र श्रेष्ठ, देव न्यौपाने, आलोक लम्साल र अभिषेक गैरेहरू नेपथ्यबाट लागिपरेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।