२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

विद्यालयमा कोरोना : सावधानी जरुरी

शिक्षकमा कोरोना संक्रमण पुष्टी भएपछि अहिले धनगढीका तीन वटा विद्यालय बन्द गरिएका छन् । एक सातासम्मका लागि बन्द गरिएका ती विद्यालयमा संक्रमित शिक्षकको सम्पर्कमा आएका शिक्षक, विद्यार्थीहरुको पहिचान गर्ने कार्य थालिएको छ ।

तीन वटै विद्यालयमा कार्यरत एक÷एक जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो । शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिन थालेपछि विद्यालयहरु सञ्चालनमा कठीनाइ देखिन थालेको छ । यद्यपि अहिलेसम्म धनगढीमा विद्यार्थीहरुमा संक्रमण देखिएर विद्यालय बन्द गर्नुपर्ने अवस्था आइसकेको छैन ।

परिक्षण हुन नसकेकाले पनि संक्रमण नदेखिएको हुनसक्छ । कैलालीसहित सुदूरपश्चिममा कोरोना परिक्षण दर न्यून छ, त्यसमा पनि विद्यार्थीहरुको परिक्षण कम छ । विद्यालयमा पनि संक्रमण देखिन थाल्नु, परिक्षण हुन नसक्नु र स्वास्थ्य सावधानी नअपनाइनुले विद्यालय कोरोना संक्रमणको उच्च जोखिममा छन् ।

विद्यार्थीहरुबीच भौतिक दुरी कायम गराउन सकिएको छैन । यहाँका विद्यालयले गत ७ मंसिरबाट विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुरु गरेका छन् । विद्यालयहरुले आलोपालो आधारमा कक्षा सञ्चालन गरिरहेका छन् ।

विद्यार्थीको भीडभाड नहोस् भनेर केही विद्यालयले बिहान र दिउँसो गरी छुट्टाछुट्टै समयमा कक्षा सञ्चालन गरिरहेका छन् । तर विद्यार्थी संख्या बढी भएकाले भौतिक दुरी कायम गरेर राख्न पनि समस्या छ ।

कक्षाकोठामा शिक्षक हुँदासम्म विद्यार्थीहरु दुरी बनाएर बस्ने गरे पनि शिक्षक निस्केपछि घुलमिल हुने गरेकाले जोखिम बढ्दो छ ।

खासगरी तल्लो कक्षाका बालबालिकाहरु एकआपसमा घुलमिल भइहाल्ने भएकाले विद्यार्थीबीच भौतिक दुरी कायम गरेर पठनपाठन गराउन विद्यालयहरुलाई चुनौति छ । विद्यालय एक्लैले चाहेर पनि कोरोना संक्रमण फैलन नदिन पूर्ण सावधानी अपनाउन सकिने अवस्था छैन ।

जोखिमकै बीच विद्यालयहरु सञ्चालन भइरहेका छन् । लामो समयपछि नियमित पठनपाठन सुरु हुनु राम्रो हो । गत चैतबाट बन्द विद्यालयहरुमा अहिले बल्ल पठनपाठन सुरु भएका बेला कोरोना संक्रमणले यसलाई निरन्तरता दिन नसकिने हो कि भन्ने चिन्ता पनि छ ।

जोखिमकै बीच विद्यालयहरुले सक्दो सावधानी अपनाएर पठनपाठन सञ्चालनको प्रयास गरिरहेका छन् तर सरकारी तहको सहयोग विद्यालयले पाउन सकेका छैनन् । आर्थिक अवस्था कमजोर भएका विद्यार्थी मास्क लगाउन पाउँदैनन् ।

मास्क लाउन नसक्ने विद्यार्थीलाई विद्यालयले मास्क वितरण गर्न सकेका छैनन् । कतिपय विद्यालयका शौचालय र धारामा हात धुनका लागि साबुन छैन । यी सामग्री विद्यालय आफैले किन्नसक्ने अवस्था पनि छैन । स्थानीय तहहरुले विद्यालयलाई स्वास्थ्य सामग्री दिन सकेका छैनन् ।
यही अवस्थामा विद्यालयहरु सञ्चालन भए महामारी विस्फोट हुनसक्छ । त्यसैले विद्यालयमा स्वास्थ्य सावधानी अपनाउन आवश्यक स्वास्थ्य सामग्री स्थानीय तहले सहयोग गर्नुपर्छ । विद्यालय एक्लैको प्रयासले पूर्ण सावधानी अपनाउन संवभ नहुने भएकाले अभिभावकले पनि मास्कलगायत आवश्यक स्वास्थ्य सामग्री दिने, सावधानी अपनाउन बालबालिकालाई सचेत गराउने र स्थानीय तहहरुले पनि स्वास्थ्य मापदण्ड पालनाका लागि स्वास्थ्य सामग्रीलगायतमा सहगोग गर्नुपर्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।