२०८२ बैशाख ८ सोमबार
२०८२ बैशाख ८ सोमबार

विष्टमाथिको कारवाही फिर्ता हुनुपर्ने माग

डडेल्धुरा । नेपाली काँग्रेस अनुशासन समितिले पार्टीका पुर्वमहामन्त्री तथा पुर्व गृहमन्त्री गोबिन्दराज जोशी, पुर्व राज्यमन्त्री पुष्करनाथ ओझासँगै पार्टीको सधारण सदस्यताबाट निस्कासन गरेका नेपाली काँग्रेस डडेल्धुराका कार्यालय सचिव रामबहादुर बिष्ट इमान्दार राजनीतिक कार्यकर्ताका रुपमा चिनिन्छन् ।

नेपाली काँग्रेस डडेल्धुरामा व्याप्त चरम गुटबन्दीका कारण पार्टीको कारवाही भोग्न बाध्य उनको कारवाही फिर्ता हुनेपर्ने जिल्लास्तरीय नेता कार्यकर्ताहरुको माग छ । शसस्त्र द्वन्द्वका बेला तत्कालिन विद्रोही माओवादीको आधार इलाका मानिने चिपुरबाट नेपाल विद्यार्थी संघ, तरुण दल हुँदै नेपाली काँग्रेसको राजनीतिमा सकृय देखिएका बिष्ट २०७१ साल पुस १३ गतेदेखि नेपाली काँग्रेस डडेल्धुराको कार्यालय सचिवमा नियुक्त भएका हुन ।

नियुक्त भएको पाँच बर्षसम्म प्रतिमहिना एक हजार रुपैयाँ खाना खर्चवाफत पारिश्रमिक तोकिएका उनी इमान्दारिताकासाथ अहोरात्र पार्टीको काममा खटिदै आएको नेपाली काँग्रेस डडेल्धुराका पाका नेता भरत नेपाली बताउछन । “नेपाली काँग्रेस डडेल्धुराको पाँर्चौ अधिशवेन पश्चात पार्टीले संस्थागत रुप लिन थालेको हो ।” उनले भने,“पार्टीका सम्पुर्ण दस्तावेजहरु कम्युटरमा राख्ने, पार्टी सदस्यहरुको तथ्यांक राख्ने र ब्यबस्थित रुपमा पार्टी कार्यालय सञ्चालनको जिम्मेवारी बिष्टले निभाउदै आएका हुन ।”

नेपाली काँग्रेस डडेल्धुरासँग हाल श्री कृष्णप्रसाद भट्टराई स्मृती प्रतिष्ठानको स्वामित्वमा रहेको ब्यबस्थित र सुविधा सम्पन्न पार्टी कार्यालय छ । पार्टी कार्यालयमा एकजनामात्रै कर्मचारीका रुपमा कार्यालय सचिव बिष्ट कार्यरत छन । २०६४ सालमा सम्पन्न पहिलो संबिधान सभाको निर्वाचनदेखि २०७० सालको दोस्रो संबिधान सभाको निर्वाचन र २०७४ सालमा सम्पन्न प्रतिनिधी सभाको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार नेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाको चिपुरस्थित मतदान केन्द्रमा एजेण्ट बसेका बिष्टलाई हरेक निर्वाचनमा उत्कृष्ट काम गरेको भन्दै देउवाले स्वाबासी दिने गरेका थिए ।

“२०६४ सालमा सम्पन्न पहिलो संबिधान सभाको निर्वाचनमा माओवादीको आधार क्षेत्र चिपुरमा काँग्रेसको प्रचारप्रसार गर्न समेत रोक लगाइएको थियो, सदरमाकामस्थित जिल्ला पार्टी कार्यालय तोडफोड गरेर माओवादी कार्यकर्ताहरुले जिल्लास्तरी सबै नेता कार्यकर्ताहरुलाई कुटपिट गरेका थिए,” बिष्टले भने,“माओवादी कार्यकर्ताहरुले कञ्चटमा पेस्तोल तेस्र्याउदा पनि ज्यानको प्रवाह नगरी माओवादी उम्मेदवार खगराज भट्टको गाँउमा काँग्रेसको एजेण्ट बसेको हुँ ।” उनले पार्टी सभापति देउवाले समेत कामको मुल्यांकन गर्दै पटक पटक स्वाबासी दिएको बताए ।

२०७१ सालमा नेपाली काँग्रेसका देशभरिका पार्टी कार्यालय सचिवमध्ये सर्वोत्कृष्ट कार्य गरेको भन्दै कार्यालय सचिव बिष्ट पुरुस्कृत भए । “पार्टीले उत्कृष्ट काम गरेको भन्दै २० हजार रुपैयाँ नगदसहित एउटा कम्युटर र प्रसंसा पत्र प्रदान गर्दा निकै खुसी भएको थिए, आज पार्टीले वास्तविकता नबुझी सधारण सदस्यताबाट निस्कासन गरेको खबरले स्तब्ध भएको छु ।” बिस्टले भने ।

नेपाली काँग्रेसको अनुशासन समितिले तीन बर्षका लागि सधारण सदस्य समेत नरहनेगरि कारवाही गरेको समाचार सुनिरहदा कार्यालय सचिव बिष्ट नेपाली काँग्रेस डडेल्धुराका कार्यवाहक सभापति करुणाकर भट्टसहितका जिल्लास्तरीय नेताहरुसँगै सात दिन पहिले निधन भएका अजयमेरु गाँउपालिका–२ का पार्टी सभापति स्व. जयबहादुर ऐरको घरमा पुगेर परिवारजनसमक्ष समवेदना ब्यक्त गरिरहेका थिए ।

“कार्यालय सचिव बिष्टमाथि कारवाहीको अकल्पनीय समाचार सुनेर सिँगो पार्टी पंक्ति स्तब्ध भएको छ,” नेपाली काँग्रेस डडेल्धुराका कार्यवाहक सभापति भट्टले भने,“यस घटनाका बारेमा पार्टीमा छलफल चलाएर कारवाही फिर्ता गराउन नेतृत्वलाई दबाब दिने तयारी भईरहेको छ ।”

पार्टीमा इमान्दार छवि बनाएका कार्यालय सचिव बिष्टले लकडाउन अविधीभर नेपाली काँग्रेस डडेल्धुराले सञ्चालन गरेको एनडीप्रकाश आपतकालिन चुल्होमार्फत क्वारेन्टाईन र आईसोलेसनमा रहेका नागरिकहरुदेखि सदरमुकाममा खान बस्न नपाएर अलपत्र परेका नागरिकहरुलाई निशुल्क भोजनको व्यवस्थापनमा अहोरात्र खटेर काम गरेका थिए । नेपाली काँग्रेस डडेल्धुराका सदस्य सन्तोष देउवाले पार्टीका सभापतिज्युको गृहजिल्लामा इमान्दार कार्यकर्तालाई पन्छ्याउने षडयन्त्र हुनु दुःखद भएको बताए । उनले पार्टीलाई निर्णय फिर्ता लिन बाध्य हुनेगरि दबाब सिर्जना गरिने जानकारी दिए ।

गत बर्ष २०७६ साउन ७ गतेका दिन नेपाल महिला संघ डडेल्धुरासँग सम्वद्ध केहि नेतृहरु नेपाली काँग्रेस डडेल्धुराको पार्टी कार्यालयमा कार्यालयको ढोका तोडफोड गरेर प्रवेश गरेपछि कार्यालय सचिव बिष्टले तोडफोड नगर्न आग्रहगर्दा भनाभन भएको थियो । सोहि बिषयलाई लिएर महिला नेतृहरुमाथि हातपात गरेको भन्दै कार्यालय सचिव बिष्ट बिरुद्ध जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा सार्वजनिक मुद्दा दर्ता गरिएको थियो । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले कार्यालयमा तोडफोड हुँदा जोगाउन प्रयास गरेकाले बिष्ट निर्दोषरहेको फैसला गरिसकेको छ ।

नेपाली काँग्रेस डडेल्धुराभित्र ब्याप्त चरम गुटबन्दीका कारण नेपाल महिला संघ डडेल्धुराको अधिवेशनबाट निर्वाचित अध्यक्ष कमला बिष्टलाई यसअघि नेपाल महिला संघ केन्द्रीय समितिले सधारण सदस्यबाट निस्कासनगर्दै तत्कालिन उपाध्यक्ष कलावती बोहरालाई संयोजक तोकेर ६ महिनाभित्र जिल्ला अधिवेशन गर्न निर्देशन दिएको थियो । संयोजक बोहराको नेतृत्वमा नेपाली काँग्रेस डडेल्धुराको कार्यालयमा प्रवेश गरेका महिला नेतृहरुसँग बिष्टको भनाभन भएपछि नेपाली काँग्रेसबाट समानुपातिक सुदूरपश्चिन प्रदेश सभाका साँसद गोबिन्दराज बोहरा, पार्टीका महाधिवेशन प्रतिनिधी तथा परशुराबम नगरपालिकाका नगरप्रमुख भिमहादुर साँउद, नेपाल महिला संघकी नेतृ तथा परशुराम नगरपालिकाकी उपप्रमुख कलावती बोहराले कार्यालय सचिव बिष्टलाई कारवाही गरिपाँउ भनि पार्टीको केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका थिए ।

सो उजुरीका आधारमा अनुशासन समितिले माग गरे बमोजिम दुईपटक लिखित स्पष्टीकरण पेश गरिसकेको कार्यालय सचिव बिष्टले बताए । कार्यालय सचिव बिष्टमाथि पार्टीको गुटबन्दीका कारण कारवाही गरिएको भन्दै नेपाली काँग्रेस डडेल्धुरा सम्वद्ध नेता कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्फत आक्रोश ब्यक्तगर्दै तत्काल कारवाही फिर्ता हुनुपर्ने माग गरेका छन । महिला संघ डडेल्धुराको अधिवेशन उद्घाटन गर्न पुगेकी काँग्रेस नेतृ डा. आरजु राणा देउवा र नेपाली काँग्रेस डडेल्धुराका जिल्लास्तरीय केहि नेताहरुबीच अधिवेशनका क्रममा विवाद उत्पन्न भएपछि डा. राणाको निर्देशनमा निर्वाचित अध्यक्ष कमला बिष्टलाई महिला संघको सधारण सदस्यताबाट निस्कासन गरिएको थियो ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।