२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

एउटा बोकाको मूल्य ४ लाख

एउटा बोकाको मूल्य कति पर्ला रु पक्कै तपाईंले भन्नुहुनेछ– केही हजार तर यहाँ एउटा बोकाको मूल्य ४ लाख रुपैयाँभन्दा बढी तोकिएको छ ।

बागलुङको रायडाँडाका किसान चिरञ्जीवी केसीले पालेको १ सय २० केजीको बोयर जातको बोका ।
बागलुङ नगरपालिका–११ रायडाँडाका चिरञ्जीवी केसीले ४ लाख रुपैयाँ तिर्ने आउँदा पनि बोका नबेचेको बताएका छन् । ‘मैले अझै केही समय पाल्ने भनेर दिइनँ,’ केसीले भने, ‘अर्को बोका किनेपछि साढे ४ लाख रुपैयाँ पाए मात्रै बेच्छु ।’ अस्ट्रेलियन बोयर जातको यो बोकाको तौल १ सय २० केजी छ । यो २८ महिनाको भयो ।

केसी पशु प्राविधिक पनि हुन् । मौरीपालन व्यवसायबाट तीन वर्षअघि बाख्रापालनलाई उनले व्यावसायिक बनाएका हुन् । उनको खोरमा अहिले पनि एक सय बाख्रा छन् । स्थानीय खरी जातका बाख्रामा बोयरको क्रस गराएर उनले बाख्रा पालिरहेका हुन् । यो बोका ९० प्रतिशत क्रस बोका हो । यस्तो विधिले पाल्दा खरी जातको जस्तै घाँस खाने, चर्न रुचाउने र तौल भने बोयरको जस्तै बढ्ने उनको अनुभव छ । केन्द्रीय भेडाबाख्रा प्रवर्द्धन कार्यक्रममार्फत तालिम पाएपछि ३ लाख रुपैयाँ लगानीमा उनले दुई वटा बोका किनेर ल्याएका थिए । रायडाँडामा अहिले १७ बाख्रा फार्म छन् । तीमध्ये १० वटा खरी बाख्राका छन् भने सात वटा बोयरका हुन् । ‘बोयर जातको बाख्राका लागि हाडनाता लाग्ने गरी बोका लगाउनु हुँदैन । त्यसैले अब नयाँ बोका ल्याउने योजना छ,’ उनले भने, ‘नयाँ बोका ल्याएपछि यो बेच्ने हो ।’ बोयर जातमा बाख्राले एकै पटक बोका खोज्छन् । त्यसैले कम्तीमा दुईदेखि तीन वटा ब्याडे बोका आवश्यक पर्ने उनले जानकारी दिए ।

रायडाँडामा पाँच वटा बाख्रापालन समूह छन् । तिनमा आबद्ध किसानका लागि केसीले प्राविधिक सहयोग गर्नुपर्छ । गत वर्ष मात्रै १५ लाख रुपैयाँको कारोबार भएको र त्यसबाट ५ लाख रुपैयाँ नाफा कमाउन सकेको केसीले बताए । वडा नम्बर ११ मा वार्षिक १ करोड बराबर बाख्राको कारोबार भएको उनले तथ्यांक छ । वडा कार्यालयका पशु प्राविधिकसमेत भएकाले उनले हरेक महिना बाख्रासहित पशुचौपायाको उत्पादनको तथ्यांक निकाल्छन् ।

व्यावसायिकबाहेक घरायसी उपयोगका लागि पनि प्रायः किसानले १० देखि २० वटा बाख्रा पालेका छन् । वडाभरि ३ हजार ३ सय बाख्रा रहेको उनले जानकारी दिए । भूगोलका कारण अन्य पेसा व्यवसाय सम्भव नभएको र बाख्रापालन एवं तरकारी खेतीमा नगरपालिकाको पनि लगानी केन्द्रित गरिएको वडाध्यक्ष ज्ञानेन्द्र गौतमको भनाइ छ । कान्तिपुरबाट

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।