बुधबार नै जिल्ला सुरक्षा समिति सप्तरीले बिहीबारदेखि राजविराज नगरभित्र अर्को सूचना नभएसम्म निषेधाज्ञा जारी गरेको छ । राजविराजमा स्थानीय सरकारको लकडाउन र प्रशासनको निषेधाज्ञा कायम छ ।
साउन १ गते भारतबाट फर्केका व्यापारीमा कोरोना संक्रमण देखिएकै दिन मृत्यु भएको थियो । त्यसयता शनिबारसम्म उनको परिवार, कामदार र तिनीहरूको सम्पर्कमा आएका २६ जनामा कोरोना पुष्टि भइसकेको छ ।
लापरबाही १
भारतबाट आउने नेपालीका लागि सप्तरीको कुनौली नाका सर्तसहित खुला गरियो । नेपाली सेनाको व्यवस्थापनमा रहेको सीमामै रहेको होल्डिङ सेन्टरमा भारतबाट आउनेलाई राखियो । सेन्टरमा रहेकाको विवरण राखेर सम्बन्धित पालिकाले आफ्नो क्वारेन्टाइनमा लैजान थाले । राजविराजमा पछिल्लो पटक फैलिएको संक्रमणका पहिलो व्यक्ति राजविराज–६ का ७२ वर्षीय व्यापारी हुन् । उनी न त होल्डिङ सेन्टरमा गए न त क्वारेन्टाइनमै बसे । भारतबाट आएका उनी नाकाबाट सिधै घर पुगे । ‘वर्षाका कारण बाटो बिग्रिएर गाडी जान सक्ने अवस्था थिएन । तीन–चार दिन सेनाको टोली खटियो, त्यसपछि विभिन्न कारणले जान सकेनौं,’ नेपाली सेनाको भीमदल गण राजविराजका प्रमुख गुप्तबहादुर कुँवरले भने, ‘होल्डिङ सेन्टर हाम्रै कमान्डमा भए पनि ती संक्रमित व्यापारी कताबाट छिरे, हामीलाई जानकारी भएन ।’
सिल रहेका सबै सीमा नाकामा सशस्त्र प्रहरीको कडा पहरा भए पनि पारिबाट निजी सवारीसाधनमा ती संक्रमित व्यापारी बिनारोकतोक प्रवेश गरेका थिए । भारततिरबाट आउने जो कोहीलाई पनि सीमामा सशस्त्र प्रहरीले रोकेर सोधपुछ र जाँच गर्छ । भारतबाट आएका ती व्यापारीलाई बेवास्ता गर्दा संक्रमण फैलिएको स्थानीयको आरोप छ ।
ती व्यापारी क्वारेन्टाइनसमेत नबसी घर जाँदा वडाध्यक्ष प्रेम यादवलाई जानकारी भयो । उनले ती व्यापारीलाई समयमै क्वारेन्टाइनमा लग्न सकेनन् । ‘उहाँ फर्केको ३ दिनपछि मलाई जानकारी भयो,’ वडाध्यक्ष यादवले भने, ‘मैले क्वारेन्टाइनमा जान र तत्कालै पीसीआर परीक्षण गराउन भनेको हुँ । होम क्वारेन्टाइनमै बस्छौं भन्नुभयो, जबर्जस्ती गर्न सकिएन ।’ भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्न नसक्नु लापरबाही भएको जिल्ला समन्वय समिति प्रमुख प्रभाकर यादव बताउँछन् । ‘भारतबाट आएका ती व्यापारीलाई सीमाबाटै क्वारेन्टाइन पठाउनुपर्थ्यो,’ उनले भने, ‘पछिल्लो समय राजविराजमा संक्रमण फैलिनु व्यवस्थापकीय लापरबाही हो ।’
यसरी फैलियो संक्रमण
ती व्यापारी गत चैत ५ गते श्रीमतीको उपचारका लागि भारतको राजधानी नयाँदिल्ली गएका थिए । लकडाउन भएपछि बिहारको दरभंगा आए । असार १५ गते राजविराज फर्किएर सिधै घर पुगे । राजविराजमा उनको खाद्य बीज भण्डार र ग्यासको डिलर छ । केही दिनपछि उनी पसलमा बस्ने र घरमा आउनेसँग भेटघाट गर्न थाले । मुटुको रोगीसमेत रहेका उनी असार ३० गते अस्वस्थ भए, उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगियो । स्वाब परीक्षण गर्दा साउन १ गते राति ८ बजे कोरोना पुष्टि भयो । त्यसै रात ११ बजे उनको मृत्यु भयो ।
भोलिपल्ट उनका परिवारका सबै ५ जनामै संक्रमण पुष्टि भयो । त्यसको अर्को दिन पसलका दुई कामदारमा पनि संक्रमण देखियो । ती व्यापारीकै सम्पर्कका आधारमा अहिले राजविराज क्षेत्रमा २६ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले बताए । तीमध्ये दुई जना गजेन्द्रनारायण सिंह अस्पतालका कर्मचारीसमेत छन् । शुक्रबार विष सेवन गरेर अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि भर्ना रहेका तिलाठी कोइलाडी–२ का एक पुरुषमा पनि संक्रमण देखिएको छ । उपचाररतमा कोरोना देखिएपछि अस्पतालका १४ स्वास्थ्यकर्मी र कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ । राजविराजमा मात्र अहिलेसम्म ४८ जना संक्रमित पुगेका छन् । सप्तरीमा शनिबार दिउँसोसम्म संक्रमितको संख्या ४ सय २६ छ ।