काठमाडौं, १० साउन । कोरोना भाइरसको जोखिम कायमै रहेपछि यो वर्ष गोसाइँकुण्ड मेला नहुने भएको छ ।हरेक वर्ष जनैपूर्णिमाको अवसरमा हुँदै आएको मेला यो वर्ष सञ्चालन नुहुने भएको हो ।
मेला व्यवस्थापन गर्दै आएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले कोरोना भाइरसको जोखिम रहेको, सरकारले मेला सञ्चालन नगर्न आग्रह गरेको, सार्वजनिक यातायात सञ्चालन नभएको, पदमार्गमा सञ्चालनमा रहेका होटल पूर्णरूपमा सञ्चालनमा नआएका जस्ता कारणले मेला सञ्चालन नगर्ने निर्णय गरेको हो ।
गोसाइँकुण्डमा वर्षको दुई पटक मेला लाग्दै आएकोमा यो वर्ष गङ्गादशहरामा मेला सञ्चालन नभएको र कोरोनाको जोखिमको कारण जनैपूर्णिमामा लाग्ने मेला पनि स्थगित गरिएको समितिका अध्यक्ष सन्जिव डिएमले बताउनुभयो ।
केही वर्षअघिसम्म मेलाको अवसरमा मात्र तीर्थयात्री आउने गरेकोमा पछिल्लो समय हिउँ पर्ने समयमा बाहेक अन्य समयमा तीर्थयात्री गोसाइँकुण्ड जाने गरेका छन् । जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गङ्गादशहरा गरी वर्षको दुई पटक तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन् । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५, मा पर्ने गोसाइँकुण्डमा मेला भर्नका लागि वार्षिक हजारौँ तीर्थयात्री जाने गरेका छन् ।