तस्विरः सिगास गाउँपालिकाको खानेपानी आयोजना
बैतडी, कार्तिक २९।



बैतडीको सिगासमा खानेपानी आयोजना निर्माणको काम अलपत्र अवस्थामा रहेको छ। जिल्लाको सिगास गाउँपालिका अन्तर्गत वडानं ०५ मा एकै ठाउँमा २/२ पटक खानेपानी परियोजना निर्माणको बजेट बिनियोजन भएपनि बजेटलाइ बालुवामा पानी हालेझै गरी निर्माण कार्य भद्रगोल अवस्थामा छोडेका छन्। स्थानिय उपभोक्ताको गुनासो छ “हाम्रा लागी खानेपानी आयोजना आयो तर पानी आएन” सिगासको वडा नं ०५ मा गडपिड खानेपानी क र ख भनेर २ पटक एकै ठाउमा रकम बिनियोजन गरिएको र एकै स्थानमा २ उपभोक्ता समिति मार्फत खानेपानी परियोजना निर्माण कार्यको जिम्मा पाएको खुलेको छ।
खानेपानी आयोजनामा अार्थिक बर्ष २०७६/०७७ मा सुदुरपश्चिम प्रदेश सरकार आर्थिक मन्त्रालय मार्फतको १४ लाख र प्रदेश सांसदको स्थानीय पुर्वाधार कार्यक्रम अन्तर्गत को १० लाख रकम बिनियोजित थियो। जसमा १० लाख बराबरको काम गरिएको र गडपिड खानेपानी आयोजनामा स्टेमेट अनुसार काम भइ भुक्तानी लिएको गडपिड खानेपानी आयोजना ‘क’ उपभोक्ता समिति अध्यक्ष जस्बिर धामीले बताए।
उता खानेपानी आयोजना ‘ख’ मा भने भद्रगोल देखिएको छ। आर्थिक मन्त्रालय मार्फतकोब १४ लाख बजेटमा ट्याङ्कि निर्माण गर्नु पर्ने तर पुर्ण बन्न सकेको छैन। स्टेमेट अनुसार काम नभएको र गडपिड खानेपानी ‘ख’ काम अधुरै लथालिङ्ग अबस्थामा रहेको उपभोक्ताहरु बताउँछन्। यस बिषयमा परियोजना ‘ख’ का उपभोक्ता समिति अध्यक्ष टंक लुहारले भने गाउँपालिकाको ढिलासुस्ती र अन्यौलताले काममा ढिलाइ भएको र रकम समेत घटेर भुक्तानी प्राप्त भएको बताए। उनले भने “खानेपानी अधुरै छ, धारामा पानी आउदैन, ट्याङ्की निर्माणको काम भने करिब करिब अन्तिममा छ”।
यस्तै कामदारको पैसा समेत दिन बाकि रहेको कामदारले गुनासो गरेका छन्। आयोजनाको अबधी समाप्त भएको झन्डै एक बर्ष बितिसक्दा समेत कामदारले ज्याला पाएका छैनन् उपभोक्ता समितिले भने भुक्तानी लिएर रकम खर्च भइसकेको जनाएको छ। अब ४० जना कामदारको १ लाख ४० हजार ज्याला दिन बाकि रहेको अध्यक्ष टंक लुहारले बताए। यो रकम कसले दिने कहाबाट दिने भन्ने चाहि अन्यौलतानै छ।

























