काठमाडौं, ९ साउन । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ७ हजार ९७ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो २४ घण्टाको तुलनामा करिब तीन हजार धेरै हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा ४ हजार २८६ संक्रमितको मृत्यु भएको थियो ।
विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख १९ हजार १५० को ज्यान गइसकेको छ । संक्रमितको संख्या एक करोड ५० लाख १२ हजार ७३१ पुगेको छ ।
सुरुका केही समय अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको थियो । यद्यपि पछिल्लो समय अफ्रिकन देशमा पनि कोरोना संक्रमण महामारीकै रुपमा फैलिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ ।
दक्षिण अफ्रिकामा मात्रै दैनिक १० हजारभन्दा धेरै कोरोना संक्रमित थपिरहेका छन् । भारतमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा फैलिरहेको छ । लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा बढेको छ ।
नेपालमा ४३ कोरोना संक्रमितको ज्यान गइसकेका छ भने १८ हजार ९४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।