डडेल्धुरा – भीमदत्त पन्त नेपालका एक शसक्त राजनीतिक कर्मी हुन् । “कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो” भन्दै सशक्त रूपमा किसान आन्दोलन गरेका भीमदत्त पन्त किसान नेताका रूपमा परिचित छन् ।



भीमदत्त पन्तको जन्म तारानाथ पन्तका छोराका रूपमा डडेलधुराको घटाला कारीगाउँमा(हाल आमारगढी न.पा.-१) वि.सं. १९८३ साल मंसिर १० गते सरस्वती देवीको गर्भबाट भयो। उनी १५ वर्षको उमेरमा भारतको सिंघाईबाट म्याटि्रक पास गरेर नेपाल फर्के।
डडेल्धुराको विरखन भन्ने ठाउँमा संस्कृत पाठशाला खोले। त्यसपछि उनले तल्लो सोरठ र रूपालमा पनि पाठशाला खोले। २००१ सालमा भारत पढ्न गएका पन्त अङ्ग्रेज हटाउने आन्दोलनमा लाग्दा पक्राउ परी २००३ सालमा छुटे। उनले डडेल्धुराको शैक्षिक विकास एवं सामाजिक परिर्वतनका लागि प्रमुख भूमिका निर्वाह गरेका थिए।
उनले आफूले दलितहरूको घरमा खाना खाएर छुवाछुत अन्त्यको घोषणा गरेका थिए।
बैबाहिक जीवन –
भीमदत्त पन्तको विवाह ११ वर्षको उमेरमा पार्वतीदेवी (ईश्वरी)सँग भयो। पार्वतीदेवीबाट भीमदत्तका दुई छोरा र एक छोरी जन्मे पनि कोही जीवित रहेनन्।
राजनीतिक यात्रा –
नेपाल फर्केर २००६ सालमा नेपाली कांग्रेस पार्टीको सदस्यता लिए। २००८ सालको किसान आन्दोलनमा मतभेद आएपछि काङ्ग्रेस पार्टी छाडे। त्यसपछि कम्युनिष्ट पार्टीतिर लगाव राख्दै गरेका पन्तले २००९ सालमा काठमाडौँ आएर पार्टीसँगै सम्पर्क गरे।
सामन्ती संस्कारका बिरुद्ध आफ्नै घरबाट बिद्रोह गर्ने पहिलो व्यक्ति पनि भीमदत्त पन्त नै थिए । अन्याय सामाजिक भेदभाव सहन नसक्ने भीमदत्त पन्तले २००७ सालदेखि आन्दोलनको शुरुवात गरेका थिए ।
गरीब दलित जनजाती किसानहरूलाई संगठित गरी राणा बिरोधी आन्दोलनमा समेत भीमदत्त पन्तको ठूलो भूमिका रहृयो । तर २००७ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसले गरेको ब्यवहार उनलाई मन परेन । उनले क्रान्ति पूरा भएको छैन भनि राणासँग मिलेर बनाएको सरकारको बिरोध गरे ।
परिवर्तनको पक्षमा स्पष्ट अडान भएका भीमदत्त पन्तले दलित मगर र थारुहरु संगठित गरी मुक्ति सेना गठन गरे । नेपालगञ्जका गौरीलाल र रुपिसंह दुई जना सेनाका कमान्डर थिए ।
“कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो’ भन्दै सशक्त रूपमा किसान आन्दोलन गर्ने विद्रोही नेता भीमदत्त पन्तले किसानको हक हितका बारेमा आवाज उठाएका थिए ।
नेता पन्तले त्यति बेलाका गरीब सर्वसाधारणले नुन समेत खान नपाएको देखेर नुन आन्दोलनको समेत घोषणा गरेका थिए । कञ्चनपुरको ब्रह्मदेवमा रहेको गोदामबाट गरीबहरूलाई नुन वितरण गरेक थिए ।
उनी जसको जोत उसको पोत, कमैया प्रथा उन्मूलन आदिमा लागे ।
मृत्युु –
भिमदत्त पन्तलाई फासी दिइएको थिएन तर उनका साथीले धोका दिएका थिए । उनलाई डडेलधुरा जिल्लाको जोगबुढाको बिर्खमको जंगलमा गोली हानी मारिएको थियो । पन्त लुकको ठाउँ उनकै साथीले देखाएका थिए ।
उनलाई मार्न भारतबाट समेत सैनिक बोलाईएको थियो । उनलाई २०१० साल श्रावण १७ गते पक्राउ गरियो र भोलिपल्ट स्थानीय सामन्तीहरूको मदतमा सिपाहीद्वारा टाउको काटेर मारियो ।
पछि उनको टाउको काटि डडेलधुराको चोकमा झुन्ड्याइएको थियो । भिमदत्त पन्तको मृत्युले पुरै गाउँ शोकमा ढुबेको थियो

























