बैतडी, २८ कार्तिक । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालक मृत्यु भएको छ । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ४ जोलाबाँजमा शुक्रबार दिउँसो १ बजेतिर ट्याक्टर दुर्घटना हुँदा बारबर्दिया नगरपालिका ८ बर्दियाका अन्दाजी ३० बर्षीय चालक खेमराज ढकालको घटनास्थलमै मृत्यु भएको हो ।



लु ४ प ६१७१ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी १५ मिटर तल खसेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिनुभयो ।
ट्याक्टर तराईबाट दार्चुला तिर जान लागेको बुझिएको प्रहरीले जनाएको छ । रित्तो ट्याक्टर कसरी पल्टियो भन्ने बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा चालक मृत अवस्थामा भेटिएका र अरु कोही नभएकाले ट्याक्टर सवार भए नभएको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । बिहीबार राती मात्रै बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो ।

























