धनगढी, ८ साउन । सुदूरपश्चिमका थप ३५ जनामा कोरोना पुष्टि भएको छ। धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा र डडेल्धुरा प्रयोगशालामा भएको कोरोना परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कञ्चनपुरका २६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताउनु भयो ।
उनका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका १० पुरुष र तीन महिला गरी १३ जना, बेल्डाँडी गाउँपालिकाका ८ पुरुष र बेलौरी नगरपालिकाका तीन पुरुष र दुई पुरुष गरी पाँच जनामा संक्रमण पुष्टि भएको छ ।
उहाले पछिल्लो २४ घण्टामा सेती अस्पतालको प्रयोगशालामा दुई सय ५८ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिनु भयो ।
उता डडेल्धुरामा गरीएको परीक्षणमा आज नौँ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । डोटीका सात र डडेल्धुराका दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनु भयो ।
आज ३५ जनामा संक्रमण पुष्टि भएपछि सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार एक सय ७७ पुगेको छ ।