डडेल्धुरा जिल्ला सदरमुकामदेखी १२ किलोमिटर उत्तर तर्फ महाकाली राजमार्गबाट करिब १५ मिनेटको पैदल यात्रामा पुगिने डडेल्धुरा जिल्लाकै सवैभन्दा अग्लो डाँडो कस्या टाकुरीलाई पर्यटन प्रवद्र्धनका लागि सिङ्गारिदै छ ।



समुद्री सतहबाट करिब ७ हजार फिटको उचाईमा रहेको कस्या टाकुरीबाट डडेल्धुरा सदरमुकाम,नवदुर्गा,गन्यापधुरा र अजयमेरु गाउपालिकाका विभिन्न क्षेत्रहरुका साथै महाभारत पर्वत श्रृंखला र डाटी,बझाङ,अछाम,बैतडी जिल्ला र भारतिय भुभागहरु पनि अवलोकन गर्न सकिने भएको हुँदा अमरगढी नगरपालिकाले उक्त टाकुरीमा पर्यटन पुर्वाधारका संरचना निर्माण गर्ने काम अगाडी बढाइएको छ ।

अमरगढी नगरपालिका वडा नं.७ मा रहेको अग्लो डाँडोमा परापुर्वकालमा राजा हरि शाहीको दरबार रहेको र हालको नवदुर्गा गाउपालिका ४ बेलापुरको खुनी बस्ने केशे बिष्टले राजाका भारद्धारहरुसंग झगडा गर्दा हरि शाहीका भारद्धारहरुले केसे विष्टको हत्या गरेको ठाँउ भएकोले यसलाई पछि कस्या टाकुरी नामाकरण गरिएको स्थानीय ७२ वर्षीय भोजराज भट्टराईले बताउनुभयो ।
उहाँले भन्नुभयो उक्त टाकुरीमा २०/२५ वर्ष अघिसम्म ढुङ्गाको मन्दिर रहेको थियो र केही खाना पकाउने भाडाँ कुँडाहरु समेत रहेका थिए ।
कस्या टाकुरी पर्यटकिय सम्भावना बोकेको ठाँउ भएकाले अमरगढी नगरपालिकाले ७२ लाख रुपिँयाको बोलपत्र आह्वान गरि काम शुरु गरेको अमरगढी नगरपालिकाका नगर प्रमुख विश्वेश्वर प्रसाद ओझाले बताउनुभयो ।
उहाँले भन्नुभयो टाकुरी सम्म पुग्ने पैदल मार्ग,टाकुरीमा मन्दिर निर्माण, र विभिन्न क्षेत्रहरुको दृश्य हेर्नका लागि दुरर्विन राख्छौ, साथै वनभोज स्थलका रुपमा विकास गर्ने गरि विभिन्न संरचना निर्माणको काम अगाडी बढाईनेछ ।
टाकुरीसम्म पुग्ने पैदल मार्गका विचबिचमा पर्यटकहरुका लागि विश्रामस्थलहरु र कस्या टाकुरीमा पुग्ने पर्यटकहरुको सुरक्षाका लागि टाकुरीको चारैतिरबाट रेलिङ्ग लगाउने भै रहेको छ । टाकुरी उत्खन्न गर्दा प्राचिनकालिन ओखल(धान कुट्न बनाईएको ढुङ्गा),मन्दिरको घण्टी लगाएतका सामाग्रीहरु भेटिएका छन् ।
अमरगढी नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि मात्रै पर्यटन विकास तथा पर्यटन पुर्वाधारमा हालसम्म करिब १२ करोड रुपिँया खर्च गरि पर्यटन हवको निर्माण गर्ने काम भएको छ ।

























