विश्वव्यापी रुपमा कोराना भाइरसले नेपाली हस्तकला क्षेत्र पनि प्रभावित भएको छ । कोभिडका कारण हस्तकलाका सामग्रीहरु निर्यात हुन सकेका छैनन् भने व्यापारीहरुले नयाँ अर्डर पनि लिन पाएका छैनन् । नेपाल उत्पादन अन्तर्राष्ट्रिय बजारमा चिनाउने व्यापार मेलाहरु कोभिडकै कारण यस वर्ष एउटा पनि आयोजना भएनन् । यसले गर्दा नेपाली हस्तकलाका सामग्री बिक्री वितरणका लागि आन्तरिक बजारमा जोड दिनु परेको हो ।
एकातर्फ नेपालका परम्परागत हस्तकलाका सामग्री विदेशीले मात्र उपयोग गर्छन् भन्ने मान्यता क्रमशः हट्न थालेको छ । स्वदेशी बजारमा आयात हुने वस्तुको बाहुल्यता भए पनि हस्तकलाका सामग्रीमा उपभोक्ताको रुची बढ्दै गएको छ । कोभिडले नेपाली हस्तकलाका उत्पादनको महत्व अझै बढाएको छ । पछिल्लो समय अल्लोका कपडा, बाँसका सल, माटाका भाँडा, थाङ्का, ऊनबाट निर्मित सामग्री, हाते कागज, मूर्तिकला तथा धातुका सामग्रीलगायतका वस्तुहरु नेपालमै खपत हुन थालेका छन् । “हस्तकलाका सामग्रीहरु जति निर्यात हुन्छ, सोही बराबर आन्तरिक बजारमा पनि खपत हुने गरेको छ,” नेपाल हस्तकला महासंघका पूर्व अध्यक्ष धर्मराज शाक्यले बताए । महासंघका अनुसार गत आर्थिक वर्षमा करिब १० अर्ब रुपैयाँको हस्तकला निर्यात भएकोमा सोही बराबर नै नेपाली बजारमा पनि खपत भएको छ । तर चालु वर्षका भने निर्यातको हिस्सा निकै सानो हुने महासंघको अनुमान छ ।
नेपालमा बनेका हस्तकलाका सामग्री ६० भन्दा बढी मुलुकमा निर्यात हुने गरेका छन् । यी मुलुकमा झण्डै ४२ प्रकारका वस्तुहरु निर्यात हुने गरेका छन् । अमेरिका, जर्मनी, चीन, भारत, जापान, बेलायत र क्यानडा लगायतका मुलुकमा नेपाली हस्तकला निर्यात हुन्छन् । हस्तकलाका सामग्रीको बजार वार्षिक १५ प्रतिशतले बढेको अध्यक्ष शाक्य बताउँछन् ।
विदेशमा नेपालका हातैले बुनेका सामग्रीहरुको माग बढेको र सोही अनुसार निर्यात पनि बढ्दै गएकाले यस क्षेत्रमा पर्याप्त सम्भावना भएको उनको भनाइ छ । आन्तरिक बजारमा समेत माग बढेकाले यस क्षेत्रमा पुँजी, प्रविधि र व्यापारीकरणका योजना जरुरी रहेको व्यवसायीहरु बताउँछन् । हस्तकला क्षेत्रको प्रवद्र्धनका लागि सरकारले नीतिगत सुधार गरी आन्तरिक बजारमै रोजगारी बढाउन पहल गर्नुपर्ने शाक्य बताउँछन् ।
महासंघको तथ्यांकअनुसार हस्तकला क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ११ लाखले रोजगारी पाएका छन् । “नेपालमै पनि सजावटका लागि हस्तकलाको सामान प्रयोग गर्ने पवृत्ति बढेको छ” शाक्य भन्छन्, “नेपाल घुम्न आउने पर्यटकहरुले चिनोका रुपमा हस्तकलाकै सामग्री रोज्ने गर्छन् भने कतिपय विदेशी राष्ट्रप्रमुख तथा महत्वपूर्ण व्यक्तिलाई दिइने उपहारमा पनि हस्तकलाकै सामान पर्ने गरेका छन् ।” सरकारले पनि नेपाली उत्पादनलाई बढावा दिने उद्देश्यले सार्वजनिक खरिदमा १५ प्रतिशतसम्म महँगो भएपनि स्वदेशी वस्तु प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । नीतिगत रुपमा व्यवस्था भएपनि कार्यान्वयमा जान नसक्दा स्वदेशी उत्पादनको दायरा फराकिलो हुन नसकेको व्यवसायीहरुको गुनासो छ ।




























