काभ्रे : काभ्रेको बनेपा नगरपालिका–१३ स्थित भैंसेपाटीमा मोटरसाइकल दुर्घटना हुँदा चार जना घाइते भएका छन्।



अरनिको राजमार्गमा आइतबार दिउँसो काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको प्रदेश नं. ३–०२–००७ प ४३४७ को मोटरसाइकलसँग विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नं. ३–०२–०११ प ३६१३ र बा ७५ प ६८७६ नम्बरको तीनवटा मोटरसाइकल आपसमा ठोक्किएका काभ्रे प्रहरीले जनाएको छ।
काभ्रेका सूचना अधिकारी तथा डिएसपी कुमार विक्रम थापाका अनुसार तीनवटा पनौती नगरपालिका–५ बस्ने २० वर्षका सुमन बिसुङखे (बा७५ प ६८७६ नम्बरको मोटरसाइकल चालक), सोही नपा–४ बस्ने वर्ष २७ को अमृत महत (प्रदेश नं. ३–०२–००७ प ४३४७ को मोटरसाइकल चालक), रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–३ बस्ने वर्ष २१ का मिलन थापा मगर प्रदेश नं. (३–०२–०११ प ३६१३ को मोटरसाइकल चालक) र निजको भाइ वर्ष १८ का किरण थापा मगर घाइते भएका छन्।
घाइते चारै जनालाई बनेपास्थित शिर मेमोरियल अस्पताल लगिएको प्रहरीले जनाएको छ। तीनवटै मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ। घाइतेको हात, खुट्टामा चोट लागेको छ।

























