बैतडी, २१ कात्तिक । कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन बढिरहेका भए पनि बैतडीका नौ वटा स्थानीय तहमा सञ्चालनमा आउने भनेका अस्थायी कोभिड अस्पताल सञ्चालनमा ढिलाइ भएको छ । आवश्यक चिकित्सक र प्रक्रियामा ढिलाइ हुँदा सञ्चालनमा आउन सकेका छैनन् ।



स्थानीय तहले अस्थायी कोभिड अस्पतालका सञ्चालनका लागि प्रक्रिया शुरु गरेका भए पनि सञ्चालनमा आउन केही दिन लाग्ने बताइएको छ । सङ्घीय सरकारले अस्पताल नभएका स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि बजेट पठाइसकेको छ । जिल्लाका नौ स्थानीय तहमा पाँच बेडका अस्थायी कोभिड अस्पताल निर्माणका लागि सङ्घीय सरकारले बजेट पठाएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि १० लाखका दरले बजेट पठाइएको छ । बैतडीमा दशरथचन्द नगरपालिका बाहेकका सबै स्थानीय तहमा पाँच बेडका अस्थायी कोभिड अस्पताल निर्माण हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
ती अस्पतालमा एक चिकित्सक, दूई स्टाफ नर्स र एक जना कार्यालयको सहयोगीको दरबन्दी भए पनि चिकित्सक भने पाइएका छैनन् । धेरैजसो स्थानीय तहले दोस्रो पटकसम्म आवेदन खुला गर्दासमेत चिकित्सक नपाएको बताएका छन् । अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि दुईपटक चिकित्सकको लागि आवेदन खोलेको भए पनि कसैको आवेदन नपरेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिनुभयो ।रासस

























