२०८१ मंसिर २६ बुधबार
२०८१ मंसिर २६ बुधबार

गर्भाधानदेखि मृत्युसम्म : के हो सोह्र संस्कार ?

मानव जीवनलाई उन्नत बनाउन संस्कारहरुको विशिष्ट महत्व हुन्छ । मानवको शारीरिक मानसिक तथा आत्मिक उन्नतिका लागि जन्मदेखि मृत्युपर्यन्त भिन्न भिन्न समयमा विविध संस्कारको व्यवस्था गरिएको छ ।  संस्कारको विषयमा मनुको स्पष्ट निर्देश छ कि माता पिताको वीर्य एवं गर्भाशयको दोषहरु गर्भाधानादि संस्कारद्वारा हटाउन सकिन्छ । अत संस्कारले शरीरलाई शुद्धि गर्दछ । मनुले संस्कारद्वारा यज्ञ, व्रत आदिले मानव शरीर अनि आत्मालाई ब्रम्ह  प्राप्तिका लागि  योग्य बनाइन्छ भनेका छन् ।

महर्षि दयानन्दले संस्कारविधि नामक पुस्तकमा लेखेका छन् – ‘जे गर्दा शरीर र आत्मा सुसंस्कृत भएर धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुन सक्दछ र सन्तान योग्य हुन्छन्  । यसैले गर्दा संस्कारहरुलाई गर्नु सबै मनुष्यहरुका लागि उचित छ । संस्कारहरूले संस्कारितलाई पवित्र तथा असंस्कृतलाई अपवित्र भनिन्छ । शिक्षा तथा औषधिहरूले सुखवर्धक संस्कार गर्नका लागि  बुद्धिमानहरूले सधै उद्यम गर्नु पर्दछ ।’

गर्भाधानो पुंसवनस्सीमन्तो वैष्णवोबलिः ।

जातकं नाम निष्क्रामोन्नप्राशनं  चोलकर्म च।।

उपनीती महानाम्नी महाव्रतमनुत्तमम्  ।

उपनिषच्च गोदानं समावार्तनमेव च ।

विवाहश्चेति संस्कारास् षोडशैताः प्रकीर्तिताः । ।

१. गर्भाधान, २. पुंसवन, ३. सीमन्तोन्नयन, ४. जातकर्म, ५. छैठी, ६. नामकरण, ७. निष्क्रमण, ८. अन्नप्राशन, ९. चूडाकर्म, १०. विद्यारम्भ, ११. कर्णवेध, १२. यज्ञोपवीत, १३. केशान्त, १४. समावर्तन, १५. विवाह र १६. अन्त्येष्टि ।

यीमध्ये पनि अहिले नामकरण, यज्ञोपवीत अर्थात् व्रतबन्ध, विवाह र  मृत्यु संस्कार मात्र प्रचलित छन्।

संस्कार प्रक्रिया

गर्भाधान संस्कार –यो उत्तम सन्तान प्राप्तिका लागि  गरिने पहिलो संस्कार हो । ऋतुदानको समय १६ दिनमा , पहिलेका ४ दिन निन्दित छन, त्यसैगरी ११ र १३औ रात्री पनि निन्दित छन् । पौर्णमासी, चतुर्दशी वा अष्टमी यी रात्रीलाई पनि छोडी दिनु भन्ने मनुस्मृतिको वचन छ । बाकी रहेका १० रात्रीमा  वीर्य निषेचनद्वारा गर्भस्थापना गर्नु गृहस्थाश्रमको पहिलो कर्तव्य हो । पुत्र वा पुत्री जुन चाहेको हो सो प्राप्त गर्ने विधान बताइए पनि बुद्धिमान रोगरहित स्वस्थ शिशुमा बढता जोड दिइएको छ । यो संस्कार वास्तवमा दिव्य आत्माहरूलाई जन्म लिनका लागि भूमि  तयार गर्नु हो । यसलाई पवित्रतासँग जोडिएको छ । सन्तुलित साकाहारी भोजन र स्त्री पुरुषको प्रसन्न मनःस्थितिले बालकको भविष्य निर्माणमा महत्त्व राख्छ ।

पुंसवन संस्कार –गर्भस्थ शिशुको बौद्धिक एवं मानसिक विकासका लागि गर्भ रहेको दोस्रो या तेस्रो महीनामा गरिने द्वितीय संस्कार हो । गोभिलीय र सौनक गृहसुत्रमा पनि यज्ञ गर्ने विधान अनि बरको कोमल पात र गुर्जो मसिनो पिसेर कपडामा छानेर गर्भिणीको दाया नाकमा सुघाउनु पर्दछ । गुर्जो वा ब्राही पनि खाने बिधान पनि छ ।

सीमन्तोन्नयन संस्कार – सीमन्त शब्दको अर्थ मतिष्क र उन्नयन शब्दको अर्थ विकास हो । आमालाई प्रसन्नचित्त राख्न, गर्भस्थ शिशु स्थिर उत्कृष्ट अनि सौभाग्य सम्पन्न होस् भनेर  गर्भाधानको आठौं महिनामा गरिने तृतीय संस्कार हो यो । यसका लागि यज्ञमा खिचडीको आहुती दिनु पर्दछ । बचेको खिचडीमा घ्यु हालेर गर्भिणीले आफ्नो प्रतिबिम्ब हेर्नु पर्दछ । त्यस समय पतिले स्त्रिलाई सोध्नु–“ किं पश्यसि ?” र गर्भिणीले उत्तर दिनु पर्दछ –“प्रजां पश्यामि” । बचेको खिचडी गर्भिणीले खानु पर्दछ ।

जातकर्म संस्कार– नवजात शिशु बुद्धिमान, बलवान, स्वस्थ एवं दीर्घजीवी होस् भन्ने कामनाले गरिने चतुर्थ संस्कार हो यो । शिशु जन्मेपछि यज्ञ गर्ने अनि घ्यु र मह मिलाएर सुन, चाँदीको सलाकाले त्यो मिश्रण लिएर बालकको जीब्रोमा “ओम” अक्षर लेखेर उसको दाया कानमा “वेदोऽसीति”– ‘तेरो गुप्त नाम वेद हो’ भनेर सुनाउनु पर्दछ । घ्यु र मह ६ पटक चटाउनु पर्दछ । प्रसुता स्त्रीको शिर तिर एउटा कलश पानीले भरेर १० रातसम्म राख्नु पर्दछ ।

नामकरण संस्कार– जन्मेको ११औ वा कुनै सुखमय दिनमा शिशुलाई सुन्दर र सार्थक नाम राख्न गरिने पाँचौ संस्कार हो । बालकको नाम जोडा अक्षर र बालीकाको नाम बिजोड अक्षरमा राख्नु भन्ने मनुस्मृतीको वचन छ ।

निष्क्रमण संस्कार–शिशुको चार महिनामा पहिलो पटक घरबाट बाहिर भ्रमणमा लैजान प्रारम्भ गर्नु पर्दछ । यसले गर्दा शिशुमा संसारको वातावरणसँग भिज्ने क्षमताको विकास हुन्छ ।

अन्नप्राशन संस्कार – आमाको दुधसँगै सुपाच्य पौष्टिक अन्न पनि शिशुलाई छैठौ महिनामा दिन शुरु गर्नु पर्दछ । घ्यु , दही र मह मिसाएको भातले यज्ञमा आहुति दिनु पर्दछ । बचेको भात शिशुलाई चटाउनु पर्दछ।

चूड़ाकर्म (मुण्डन) संस्कार– शिशुको बौद्धिक, मानसिक एवं शारीरिक विकासको कामनाले जन्मपछि पहिला वा तेस्रो वर्षमा गर्भका मलिन कपाल खौरने आठौं संस्कार हो यो ।

कर्णवेध संस्कार– यो शिशुलाई शारीरिक व्याधिहरु हर्निया आदिबाट रक्षाको कामनाले गरिने संस्कार हो । जुन जन्मबाट तेस्रो वा पाँचौ वर्षमा गर्नु राम्रो हो भनेर आश्वालायन गृहसूत्रको वचन छ ।

यज्ञोपवीत (उपनयन) संस्कार– उप को अर्थ नजिक अनि नयनको अर्थ प्राप्त गर्नु वा हुनु हो । यसमा गुरुले यज्ञोपवीत धारण गराएर दीक्षा दिन्छन्  अनि  ऋषीऋण, पितृऋण र देवऋणबाट बाहिर उऋण हुन प्रेरणा दिन्छन् ।

वेदारम्भ संस्कार– पहिले बालकलाई उपनयन गरेकै दिन वा भोलिपल्ट गुरुकुलमा प्रवेश दिइन्थ्यो । गुरुको नजिक बसेर श्रेष्ठ शिक्षा दीक्षा ग्रहण गर्दै गायत्री मन्त्रदेखि पुरै वेदको अध्ययन गर्नका लागी नियम धारण गर्न लगाइन्थ्यो । वैदिक समयमा धनी गरीब सबैलाई समान निस्शुल्क शिक्षाको अवसर प्रदान गरिन्थ्यो ।

समावर्तन संस्कार– शिक्षा प्राप्त गरिसकेपछि विद्यालयले विदाई दिनु जसलाई आज ‘दीक्षान्त समारोह’ भनिन्छ । पहिले विवाह गरेर गृहस्थाश्रम धारण गर्ने उद्देश्यले विद्यालय छोडेर घर आउनुलाई  समावर्तन भनिन्थ्यो ।

विवाह संस्कार– गृहस्थाश्रममा प्रवेश गर्न गुण कर्म स्वभाव मिल्ने स्त्री र पुरुषको सम्बन्ध गराउनु यसको उद्देश्य हो । यसमा पुरुष २५ वर्ष पुगेको आफ्नो गोत्रभन्दा बाहिर र माताको तर्फको ६ पीढी बाहिरकी  युवती १६ वर्ष पुगेको हुनुपर्ने विधान छ  । यो संस्कारको उद्देश्य  गृहस्थ धर्म र कार्यहरु पालन गर्दै सन्तानोत्पत्ति गर्नु अनि उचित शिक्षा दिक्षा दिएर सुयोग्य नागरिक तयार पार्नु हो ।

वानप्रस्थ संस्कार– सन्तानहरु स्वावलम्बी भएर छोराको पनि छोरा भए पश्चात ५० वर्ष नाघेपछि समाज र देश सेवाका लागि घरबाट निस्कनु हो । आजको सन्दर्भमा भन्नुपर्दा अवकाशपछि ईश्वर भक्ति गर्दै परोपकारको काममा लाग्नु हो ।

संन्यास संस्कार–सांसारिक भोग आदिको भावनाहरुको र सर्वस्व त्याग गरेर, पूर्ण वैरागी बनेर, परोपकारका लागि हिडने दीक्षा लिनु तथा ब्रह्ममा लीन भएर मोक्षप्राप्तिका  लागि प्रयत्न गर्नु हो । आजको सन्दर्भमा परोपकारको काम गर्दै मन, वचन, कर्मले परमात्माप्रति समर्पित भएर मोक्षको कामना लिनु नै संन्यासी बन्नु हो ।

अन्त्येष्टि संस्कार– मृत शरीरलाई दाहकर्म अन्यले गर्दछन् । यो नै अन्तिम संस्कार हो र यसपछि कुनै विधि गर्नु पर्दैन ।

प्रत्येक संस्कारले मानिसलाई नैतिक, आदर्श जीवन बिताउँदै जीवनको उच्चतामा  पुग्न प्रेरित गर्छ । तसर्थ संस्कार गराउँदा आफू  पनि शुद्ध रहनु पर्छ र पुरोहित पनि शुद्ध आचरणको व्यक्तिलाई लिनुपर्छ । अन्यथा संस्कारले दिनु पर्ने प्रतिफल प्राप्त हुँदैन भन्ने शास्त्रीय विधान छ ।

वर्तमान सभ्यताको विकाससँगै हामीकहाँ केही नयाँ संस्कार पनि थपिएका छन् । मानिसले जन्म दिवस र विवाह दिवसको संस्कार मनाउन थालेका छन् । यद्यपि त्यसमा केही कुरा हामीकहाँ प्रचलित परम्परा अनुसार छैन।  उदाहरणका लागि जन्म दिवसमा बत्ती निभाउने युरोपियन परम्परा छ जुन हाम्रो संस्कार अनुसार अशुभ मानिन्छ । यस्ता केही कुरामा भने विचार गर्नु आवश्यक हुन्छ। संस्कारसँग मानिसको पहिचान गाँसिएको हुन्छ तसर्थ संस्कार पालन गर्दा चिनारी नगुमोस् भन्नेमा विवेक पुर्याउनु पर्छ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।