बोक्सी आरोपमा ९० वर्षीया वृद्धामाथि छोराले गरे कुटपिट, मलमूत्र खुवाउने प्रयास
नौ महिनामा मात्रै मधेसमा ११ महिलालाई बोक्सीको आरोपमा दुर्व्यवहार



……
हाम्रो समाज कहाँ छ ?
चेतना कहाँ छ ?
स्नेह र मानवता कहाँ छ ?
जब बोक्सीको आरोपमा ९० वर्षकी महिला कुटिन्छिन्, त्यो पनि आफ्नै छोराबाट, संगीनजस्ता धारिला प्रश्न खडा हुन्छन् ।
दसैँको अर्को दिन सिराहाको कर्जन्हा नगरपालिका–३ की ९० वर्षीया सुदामादेवी साह सोनारलाई आफ्नै छोराले बोक्सीको आरोपमा दुव्र्यवहार गरेका छन् । सारा गाउँलेका अगाडि उनले आफ्नी आमालाई दिसा खुवाउने प्रयाससमेत गरेका छन् ।
दुवै छोरा छुट्टिएपछि सुदामादेवी एक्लै बस्दै आएकी थिइन् । यहीबीच उनका कान्छा छोरा रामऔतारकी बुहारी मनीषाको खुट्टामा घाउ भएको थियो । बुहारीको घाउ लामो समयसम्म निको नभएपछि रामऔतारले आमालाई बोक्सीको आरोप लगाएका हुन् । आफ्नै नातिनीबुहारी बिरामी हुँदा आमाले बेवास्ता गरिन्, बरु उल्टै बोक्सी लागिन् भन्दै छोराले कुटपिट गरेको स्थानीयले बताएका छन् ।
दिसा खुवायो भने बोक्सीको नजर झर्छ भन्दै उनले आमालाई दिसा खुवाउने प्रयास गरेका थिए । उनले आदेश दिएपछि माहिलो छोराले प्लास्टिकमा दिसा घोलेर ल्याएका थिए । तर, घटनाको जानकारी पाएलगत्तै प्रहरी पुगेकाले रामऔतारले आमालाई दिसा खुवाउन भने नपाएको छिमेकीले बताएका छन् ।

गाउँमा जघन्य घटना भइरहेको विषयमा जानकारी पाएपछि वडाध्यक्ष दाजु कपलेश्वर यादवले प्रहरीलाई खबर गरेका थिए । ‘मैले गाउँलेबाट जानकारी पाएलगत्तै मिर्चैया प्रहरीलाई खबर गरेँ, प्रहरीले वृद्ध महिलालाई तत्कालै उद्धार गरी उपचारका लागि जनकपुर पु¥यायो,’ वडाध्यक्ष यादवले नयाँ पत्रिकासँग भने, ‘छोराले दिसा खुवाउन पाएन, तर वृद्धा आमालाई लछारपछार गर्दै घाँटी थिचेको जानकारी गाउँलेले दिएका छन् ।’
पीडित सुदामादेवीकी छोरी जानकी साहले प्रहरी आएपछि स्थानीय गाउँलेको सहयोगमा आमालाई जनकपुर पु¥याएर उपचार गरिएको बताइन् । ‘कुटपिट मात्र भएको छैन, घाँटी थिचिएको छ, घाँटीको हड्डी मोडिएको छ, तर ९० वर्षको उमेर भएको कारण हड्डीको सुधार हुँदैन भन्दै अस्पतालले डिस्चार्ज गरिदिएको छ,’ जानकीले भनिन् । छोरीले आमालाई आफ्नै घरमा ल्याएकी छिन् ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तुलाल जैसवालका अनुसार दुव्र्यवहार गर्ने छोरा रामऔतार अहिले हिरासतमा छन् । उनले भने, ‘अहिले अनुसन्धान भइरहेको छ । वृद्ध आमालाई दुव्र्यवहार गरेको भन्ने गाउँलेले जानकारी दिएका छन् । आरोपी आपैmँले पनि आरोप स्विकारेका छन्, अब कानुनअनुसार कारबाही हुन्छ ।’
घटनाको जानकारी पाएपछि लहानबाट महिला पुनस्र्थापना केन्द्रका प्रतिनिधिसहित अधिकारकर्मीको टोलीले शुक्रबार पीडितलाई भेटेको महिला अधिकारकर्मी श्यामकुमारी साहले बताइन् । ‘यो आफैँमा जघन्य अपराध हो, तर दुःखको विषय, यो पहिलो घटना होइन,’ उनले भनिन्, ‘अपराधीलाई हदैसम्मको सजाय हुन्छ भन्ने सन्देश दिन जरुरी छ । अन्यथा अझै धेरै आमा र दिदीबहिनीले प्रताडना भोग्नुपर्नेछ ।’

























