२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

कञ्चनपुरमा धान खेतमा माछापालन गरेर चार महिनामा तीन लाख बढी आम्दानी

कञ्चनपुर, १३ कात्तिक ।  शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी ३ लाख बढी आम्दानी गरेका छन्। जेकेए पशुपंछी तथा मत्स्यपालन फार्म खोलेर धान खेतमा माछापालन गर्दै आएका ऐरले विगत चार महिनाको अवधिमा सो आम्दानी गरेका हुन्।

उनले एक बिघा धान खेतमा कमन, रहु, भाकुर, नैनी, सिल्भर, ग्रासकार्पलगायत जातका माछापालन गरेका छन्। गत असार महिनामा माछाका ५ हजार भुरा खेतमा राखेका उनले चार महिनामा सो भुराको तौल आधा किलोसम्म पुर्‍याएर बिक्री गरेका हुन्।

“धान खेतमै पानी, चारो, मलको व्यवस्था गरी माछापालन गरेका छौं”, उनले भने, “माछापालनबाट सोचेभन्दा बढी नै आम्दानी भएको छ।” धानको उत्पादन समेत बढेपछि दोहोरो आम्दानी हात परेको उनको भनाइ छ।    

“धान खेतमा माछापालन सुरु गरेपछि रोग किराको समस्या समेत हटेको छ। धानमा लाग्ने किरा सबै माछाले खाइ दिएपछि अरु वर्षको जस्तो रोग किराको समस्या पनि व्योहोर्नु परेन”, ऐरले भने, “माछासँगै धानको उत्पादन बढेपछि माछापालनलाई अर्को वर्ष पनि निरन्तरता दिने योजनामा छु।”

धान काटेर थन्क्याई सकेका उनले खेतमा राखिएका माछा केही बिक्री गरेका छन् भने केही बिक्रीका लागि तयारी अवस्थामा राखिएको छ। धानखेतसँगै उनले माछापालनका लागि चार वटा पोखरी समेत निर्माण गरेका छन्। विगतका वर्षमा ५/६ बोरी मात्रै धान उत्पादन हुने खेतमा यो वर्ष मसिनो जातको ३० बोरी धान उत्पादन भएको उनको भनाइ छ।    

धान खेतमा बिक्री नभएका माछा पोखरीमा राखेर ग्राहकको माग अनुसार बजारसम्म पुर्‍याउने उनको योजना छ। खेतमा माछापालनका लागि धान रोप्नुअघि नै घरमै तयार गरिएको प्रांगारिक मल राखेर जोताइ गर्नुपर्दछ। त्यसपछि खेतमा पानी लगाई हिल्याएर मात्र धान रोप्नुपर्ने हुन्छ। धान रोपेको १५ दिनपछि युरिया मल छर्किएर माछाका भुरा ल्याएर खेतमा छाड्नु पर्ने उनको भनाइ छ।    

माछा राखिएको खेतको पानी अन्यत्र जान नदिनका लागि बलियो आलि (मेण) बनाउनु पर्ने हुन्छ। “खेत र पोखरीमा गरी दुई सय क्विन्टल माछा उत्पादन भएको छ”, ऐरले भने, “यसको बजार मूल्य ६ लाख रहेको छ।” माछापालनका लागि मात्रै ऐरले ५ लाख लगानी गरेका छन्। माछापालनसँगै उनले स्थानीय जातका कुखुरा, बङ्गुर, चाइनिज हाँस समेत पालेका छन्।

फार्ममा माछा, कुखुरा, बङ्गुर र हाँस पालेका उनले यसका लागि भौतिक संरचना निर्माणमा ३० लाख लगानी गरेका छन्। फार्म सञ्चालनका लागि केही रकम आफूसँगै भएको र केही रकम बैंकबाट ऋण लिएको उनको भनाइ छ।रासस

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।