धनगढी, ६ साउन । सुदूरपश्चिममा आज ३२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज डडेल्धुरा, धनगढी र शिक्षण अस्पतालमा भएको परीक्षणमा ३२ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले डडेल्धुरामा भएको परीक्षणमा डोटीका चार जनामा संक्रमण पुष्टि भएको बताए । यस्तै शिक्षण अस्पतालमा भएको परीक्षणमा कैलालीका एक जनामा कोरोना पुष्टि भएको उहाले बताउनु भयो ।
यता धनगढीमा भएको परीक्षणमा सुदूरपश्चिममा आज थप २७ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ८८ जनाको कोरोना परीक्षण भएकोमा २७ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कञ्चनपुरका २० जना, बझाङका चार जना र कैलालीका तीन जनामा कोरोना पुष्टि भएको हो ।
योसैगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार एक सय २७ पुगेको छ । संक्रमण पुष्टि भएका दुई हजार एक सय २९ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भईसकेको छ