काठमाण्डौ –सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक १३ गतेसम्मको लागि स्थगित भएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर बसेको बैठक मुलुकभर भइरहेको भारी वर्षा र बाढीपहिरोबाट सिर्जित समस्याका कारण एकहप्ताका लागि स्थगित गरिएको नेताहरुले बताए। बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बाढी पहिरोबाट प्रभावितहरुको उद्धार र राहतमा सम्पूर्ण पार्टी एकताबद्ध भएर लागिपर्ने निर्णय भएको बताए ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेको सो बैठकको अध्यक्षता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए।बैठकअघि दुई अध्यक्ष ओली र प्रचण्डबीच बालुवाटारमै छलफल भएको थियो। दुई अध्यक्षको भेटलगत्तै बसेको स्थाायी कमिटी बैठक केहीमिनेट बसेर प्रस्ताव पारित गर्दै स्थगित गरिएको हो ।
नेकपाभित्रको आन्तरिक राजनीतिक विषयमा भने विवाद कायमै छ । विवादकै कारण पटक पटक स्थायी समिति बैठक स्थगित हुँदै आएको थियो । प्रधानमन्त्रीको राजीनामाको माग भएपछि नेकपाभित्र विवाद चर्किँदै गएको हो । बैठक स्थगित गरेर सहमति जुटाउने प्रयास हुँदै आएपनि हालसम्म सहमति जुट्न सकेको छैन भने ओली राजीनामा नदिने अडानमा टसमस छन् ।