बैतडी, ३० असोज । चाडपर्वका बेला भीडभाड बढेर कोराना सङ्क्रमणको जोखिम बढ्ने भन्दै बैतडीमा लकडाउन गरिएको छ ।



जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आङ्शिक लकडाउन गर्ने जनाएको हो । दशैँ तिहारका बेला जिल्लाका विभिन्न शक्तिपीठहरुमा हुने मेला, जात्रा, उत्सव, पर्व, सांस्कृतिक तथा सामाजिक जमघट नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।
यसका साथै खेलकुद, विद्यालय, कलेज तथा शैक्षिक संस्थामा पठनपाठन अर्को व्यवस्था नभएसम्मका लागी नगर्न नगराउन सूचनामा भनिएको छ ।
राजनीतिक दल तथा भ्रातृ सङ्गठनहरुलाई भीडभाड हुने गरी आमसभा गोष्ठी नगर्न र नागरिकहरुलाई सार्वजनिक स्थलहरुमा भीडभाड तथा जमघट नगर्न जिप्रकाले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले दशैँ तिहारका बेला स्वास्थ्यसम्बन्धी मापदण्ड पालनाबारे थप कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुुभयो ।
उहाँले भन्नुुभयो, “चाडपर्वका बेला हुन सक्ने कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यसम्बन्धी मापदण्ड पालनाबारे थप कडाइ गरेका हौं, मास्क, सेनटाइजरलगायत स्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गर्दछौँ ।”
कसैले प्रशासनको आग्रहलाई अटेरी गरे सङ्क्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानूनअनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

























